बैतडी – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार भएको फाइनलमा बैतडीलाई ३८ रनले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो ।
कञ्चनपुरले दिएको १ सय ९६ रनको लक्ष्य पन्छाएको बैतडी १ सय ५७ रनमा अलआउट भयो । बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए पनि हार टार्न सकेनन् । कञ्चनपुरका आदित्य महताले ३, अर्जुन साउद र प्रकाश विष्टले २/२ विकेट लिए ।



त्यसअघि कभर्डहल मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९५ रन जोड्यो ।
जसमा अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए । बैतडीका लागि जगदीश चन्दले सर्वाधिक ३ विकेट हात पारे ।
कञ्चनपुरका आदित्य महता म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।
पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता थियो ।
सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ ।
उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदैछ ।















