अछाम – अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु हुन अझै ९ महिना लाग्ने भएको छ । आयोजनाको मुल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने बेलामा लगानीकर्ता साउदी अरबले आफू अनुकुल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्वीकार गरेपछि निर्माण सुरु हुने अवधि लम्बिएको हो ।
मूल्यांकनको प्रक्रिया मात्रै सुरु भएकाले ठेक्का प्रक्रियामा गएर आयोजनाको काम गर्न अझै कम्तीमा ९ महिना लाग्ने आयोजनाका साइट इन्चार्ज इन्जिनियर वीरबहादुर बोहराले बताए ।

करिब ८ महिना लगाएर तयार गरेको ठेक्का प्रक्रिया रद्द भएपछि पुनः मूल्यांकनको काम सुरु भएको छ । इन्जिनियर बोहराका अनुसार आयोजनाले निर्माण व्यवसायीको योग्यताको लिस्ट तयार गर्दै छ । त्यसपछि निर्माण व्ययसायी छनोट गर्ने र अन्तिममा छनोट भएका व्यवसायीसंँग वित्तीय प्रस्ताव माग गरेपछि मात्रै ठेक्का प्रक्रियामा जानेछ ।
‘खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा आयोजनाको काम सुरु हुने भएकाले आयोजनाका लागि सुरु हुने ठेक्का र अन्य प्रक्रिया साउदी अरबले स्वीकार गरेपछि मात्रै आयोजनाले काम गर्न पाउने बाध्यात्मक अवस्था छ ।

सम्झौतामा आयोजनाका हरेक क्रियाकलाप सञ्चालन गर्दा साउदीले स्विकारेपछि मात्रै काम सुरु गर्न पाउने सम्झौता गरिएको छ,’ इन्जिनियर बोहराले भने, ‘साउदीले मागेको मापदण्ड अनुसार नै अहिले प्रक्रिया अगाडि बढाएका छौं । योभन्दा पछि भने अस्वीकार गर्नुपर्ने अवस्था नआउन सक्छ ।’
अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बुढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारले साउदी सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
आयोजनाको निर्माण विकासका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ । २०७२ असार १४ गते सम्झौता भई ०७३ पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले १ वर्षअघि मात्रै डीपीआर तयार पारेको हो । डीपीआर तयार पार्न करिब १९ करोड ९१ लाख ३३ हजार नेपाली रुपैयाँ लागत छ ।
सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ देखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर छ ।
बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुर सम्म पु¥याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।
८.६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्यत्गृह, टेलरेस, सब–स्टेसन, प्रसारण लाइन रहनेछन ।














