धनगढी – कोरोनाको तेस्रो भेरिएन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा फैलिसकेकाले खुला सीमा रहेको सुदूरपश्चिममा यसको अत्यधिक जोखिम बढेको छ । सुदूरपश्चिमबाट भारत आवतजावत गर्नेको बाक्लो संख्या हुने भएकाले जुनसुकै बेला ओमिक्रोन भित्रिएर फैलिनसक्ने स्वास्थ्यकर्मीहरूको बुझाइ छ ।
तेस्रो भेरिएन्ट भित्रिन र फैलिन नदिनका लागि पूर्वतयारी स्वरूप जनशक्ति र पूर्वाधारमा सुदूरपश्चिमले विशेष ख्याल गर्नुपर्ने आवश्यकता भए पनि लापरबाही भइरहेकामा स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन । ‘खुला सीमा भएकाले अन्यत्रभन्दा हाम्रो प्रदेशमा जोखिम बढी छ,’ प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘पोहोरभन्दा धेरै हदसम्म तयारी त भएको छ । तर अझै धेरै गर्न बाँकी छ ।’ पहिलो र दोस्रो चरणमा कैलाली र कञ्चनपुर कोरोना संक्रमणको हटस्पट नै बनेका थिए ।

पुर्वतयारी गरिएको दावी

तीव्र गतिमा फैलिन सक्ने अनुमान गरिएको तेस्रो ओमिक्रोनको रोकथाम तथा नियन्त्रण गर्न खोप, पूर्वाधार र जनशक्ति व्यवस्थापनमा जोड दिइएको सम्बन्धित निकायले जनाएका छन । १७ वर्षमूनिको उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान चलिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘त्यसभन्दा माथिको उमेर समूहकालाई भने पहिल्यैदेखि खोप प्रदान गरिरहेका छौं,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने ‘कम्तीमा एक डोज भए पनि सुदूरपश्चिममा लक्षित सबै जनसंख्याले खोप पाइसकेका छन ।’
प्रवक्ता कार्कीले खोप, स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिएर तयारी भइरहेको बताए । पूर्वतयारीका क्रममा कैलाली र कञ्चनपुरमा थप ५०÷५० शय्याको कोभिड अस्पताल तयार भएको, पहाडी जिल्लाका अस्पतालमासमेत आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति तयार गरिएको, अक्सिजन प्लान्ट थप गरिएको प्रवक्ता कार्कीले बताए । ‘पोहोर साल यति व्यवस्था थिएन,’ उनले भने, ‘भारतबाट आउनेहरूका लागि सीमा नाकामै खोप प्रदान गरिरहेका छौं ।’
सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा दुई हजार सिलिन्डर भर्न सकिने क्षमताको लिक्विड अक्सिजन प्लान जडान गरिएको छ । अस्पतालका प्रमुख डा. हेमराज पाण्डेले थप अर्को प्लान्ट पनि जडानको तयारीमा रहेको बताए । उनले १८ शय्या बालबालिकाका लागि तयार गरिएको उनको भनाइ छ । ‘विशेषज्ञ चिकित्सकको संख्या पनि पोहरभन्दा दुई जना बढेका छन्,’ डा. पाण्डेले भने, ‘बच्चाका लागि पनि आईसीयू तयार गरेका छौं । तर हाम्रोमा एनेस्थेसियनको भने निकै अभाव छ ।
अर्कोतिर कैलाली र कञ्चनपुरका सीमा नाकामा एक/एक हजार शय्या क्षमताको सुविधासम्पन्न होल्डिङ सेन्टर निर्माणको अन्तिम चरणमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री लालबहादुर खड्काले भने, ‘ती होल्डिङ सेन्टर तयार भए पनि बिरामीलाई कता राख्ने भन्ने समस्या हुने छैन ।
स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशका विभिन्न जिल्लामा रहेका १२ वटा सरकारी अस्पतालमा ९ सय ७७ शय्या छन । सबै अस्पतालमा गरी एक सय ३९ शय्या एचडीयू रहेकामा कोभिड एचडीयूको संख्या एक सय २६ छ ।

















