डोटी – सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन्। करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।’


अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।
हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउ लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।
रासस



















