बैतडी – बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमबाट ६ हजार बढी नागरिक लाभान्वीत भएका छन । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर आयोजित कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले नामावलीका लागी नाम दर्ता गराएका हुन ।
जिल्लाका सबै गाउँपालिकाका केन्द्रमै नाम संकलन गर्ने टोली १० दिनसम्म बसेर मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए ।

बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको उक्त अभियानअन्तर्गत मंसिर १६ देखि मंसिर २६ गतेसम्म पहिलो र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा कार्यक्रम सञ्चालन भएको थियो ।
पहिलोमा डिलाशैनी, सिगास, पञ्चेश्वर गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिका र दोस्रोमा दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन भएको हो ।
उक्त कार्यक्रममा सबैभन्दा बढी पुर्चौडीमा १ हजार २३८ र सबैभन्दा कम पञ्चेश्वरमा ११६ जनाले फाटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै पाटनमा १ हजार सात, जिल्ला प्रशासनमा ८९२, मेलौलीमा ५१४, दोगडाकेदारमा ४८५, डिलाशैनीमा ४५३, सुर्नयामा ४२८, शिवनाथमा ३३३, सिगासमा २८८ र निर्वाचन कार्यालयमा ५७ जनाले नाम दर्ता गराएका हुन् ।
जिल्लामा रहेका १० स्थानीय तहमध्ये ९ मा उक्त कार्यक्रम सञ्चालन भएको र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा भने यसअघिदेखि नै प्रशासन र निर्वाचनमा सञ्चालनमा रहेको थियो ।
नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको थियो । सम्बन्धित पालिकाका तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइएका थिए ।
यसबीच हाल पनि जिल्लाका ३ स्थानबाट नामावली संकलन कार्य भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट नामावली संकलन कार्य भइरहेको छ ।
इलाका प्रशासनबाट पुस १९ गतेसम्म नामावली संकलन गरिनेछ भने प्रशासन र निर्वाचन कार्यालयको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने जनाइएको छ ।
बैतडीमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।



















