टिंकर सडकको ठेक्का तोडियो, ठेकेदारलाई कालोसूचिमा राख्न सिफारिस

दार्चुला — महाकाली नदी किनारैकिनार निर्माणाधीन महाकाली करिडोरअन्तर्गत दार्चुला–टिंकर सडकमा अमर–सूर्य जेभी कम्पनीसँगको ठेक्का तोडिएको छ । उक्त सडक खण्डको माल–घाटीबगर, कोठेधार र राप्लामा काम गर्ने अमर–सूर्य जेभीका ठेकेदारले निर्माणमा लापरबाही गरेकाले ठेक्का तोडिएको आयोजनाले जनाएको छ । काममा लापरबाही गर्ने अरू निर्माण व्यवसायीको पनि सडक योजनाले ठेक्का तोड्न सुरु गरेको छ ।

maya metro hospital

२०७० असार २३ मा सम्झौता भएको दार्चुला–टिंकर सडकमा करिब ९ वर्षमा तीन किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । यस अवधिमा उक्त ठेक्काको ६ पटक म्याद थप गर्दासमेत निर्माणमा अटेरी गरेपछि ठेक्का तोड्नुपरेको महाकाली करिडोरको बह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक योजनाका प्रमुख आशुतोष कर्णले बताए । ‘समयमै काम गर्न लिखित र मौखिक रूपमा धेरै पटक सचेत गरिएको छ । कहिले मेसिन आउँदै छ भन्ने, कहिले एकदुई दिन काम गर्ने र त्यसपछि काम नगर्ने प्रवृत्ति देखाउन थालेको थियो,’ उनले भने, ‘करिब ९ वर्षमा ३ किलोमिटर सडकको ट्र्याक खोल्ने निर्माण व्यवसायीका कारण योजनाको प्रगति नकारात्मक देखियो ।’

सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँग भएको सम्झौता भंग गरिएको र उक्त कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको कर्णले जानकारी दिए । ‘निर्माणस्थलमा नगई ठेक्काको म्याद थप्न मात्र ठेकेदार कार्यालयको सम्पर्क आउने रेकर्ड कार्यालयमा छ । लागेको ठेक्का तोड्दा समय लाग्ने र दोस्रो ठेक्का लगाउन समस्या हुने हुँदा पटक–पटक ठेकेदारलाई सचेत गराउँदै म्याद थपिएको देखिन्छ,’ उनले भने ।

attariya hospital

उक्त ठेक्काको प्रगति ४५ प्रतिशत मात्र देखिएको सडक योजनाले जनाएको छ । कोठेदारदेखि नेपाली सेनाले टिंकर सडकको ट्र्याक खोल्न सुरु गरेको छ । उक्त ठेक्काको क्षेत्रमा सेनाले निर्माण सामग्री लैजान सडकको पहुँच नहॅुँदा ढुवानीमा समस्या भइरहेको सेनाले जनाएको छ । सुरुमा दार्चुला–टिंकर सडक योजनाको नाममा सडक निर्माण भएको थियो । त्यतिबेला दार्चुला सदरमुकाममाथिको क्षेत्रमा सडक ट्र्याक खोलिरहेको योजनालाई २०७४ सालमा महाकाली करिडोरमा राखेर कञ्चनपुरको बह्मदेवदेखि दार्चुलाको टिंकर भन्ज्याङसम्मको ४२५ किलोमिटर सडक निर्माण भइरहेको छ ।

योजना कार्यालयका अनुसार २०७४ देखि मात्र महाकाली करिडोरको अवधारणामा काम सुरु गरिएकाले ४ वर्षको प्रगति अपेक्षाकृत देखिएको छ । तर, सुरुको दार्चुला–टिंकर सडक खण्ड भने करिडोरमा गाभिएदेखि खासै प्रगति नदेखिएको व्यास गाउँपालिका–६ का प्रेमसिंह धामीले बताए । चट्टानी भूभाग नभएको सदरमुकाम तल्लो क्षेत्रमा सडकको प्रगति राम्रो देखिएको छ । सदरमुकाममाथि योजना कार्यालयको ध्यान नपुगेको स्थानीयको आरोप छ ।

‘व्यास गाउँपालिका–४ सुन्सेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खोलिएको छ । उक्त सडक गत वर्षामा अवरुद्ध भएको थियो । अहिलेसम्म खुल्न सकेको छैन,’ धामीले भने । सुन्सेरासम्म दुई वर्षअघि ट्र्याक खोलिएको थियो । त्यसमाथि अहिलेसम्म उक्त सडकको ट्र्याक खुलेको छैन । माथिल्लो क्षेत्रमा सडकको ट्र्याक नखोलिँदा सेनाले हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरिरहेको व्यास गाउँपालिका–३ का दीपकसिंह कुँवरले बताए ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.