खाेज्नुहाेस

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलन सुरु

Image

धनगढी– नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन शनिबारदेखि धनगढी सुरु भएको छ । देशका ७ वटै प्रदेशमा एकसाथ सुरु भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यामबाट काठमाडौँबाटै उद्घाटन गरेका छन ।

अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ९७ प्रतिनिधि सहभागि भएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले जानकारी दिएका छन् ।

attariya hospital

सम्मेलनबाट ९ पदाधिकारी सहित २२३ (१० प्रतिशत मनोनित सहित) जनाको प्रदेश समिति चयन हुनेछ । पदाधिकारी तथा सदस्यका आकांक्षी नेताहरू गृहकार्यमा जुटेका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।

navjiwan hospital

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेतृत्व चयनको लागि सबैभन्दा पहिले सहमतिकै प्रयास हुने बताए । अन्तिम विकल्पको रूपमा मात्रै लोकतान्त्रिक विधिमा पनि जान सक्ने इन्चार्ज भट्टको भनाइ छ । अधिवेशनले नयाँ नीति र नयाँ सिद्धान्त ल्याउने बताउँदै उनले त्यसै अनुसार पार्टीका गतिविधिपछि नयाँ तरिकाले सञ्चालन हुने बताए ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशनका डाक्टर केदार चन्द्र भट्टलाई निर्वाचन समितिको संयोजक तोकिएको छ ।

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भइ आएका छन् ।

केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्यसमेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) पनि अध्यक्ष बन्ने दौडमा रहेको जनाएको छ ।२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् ।

माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार बन्ने प्रदेश समिति समावेशी चरित्रको हुनेछ । ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ । पदाधिकारी छनोटका लागि बन्दसत्र आइतबारबाट सुरु हुने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।