खाेज्नुहाेस

धनगढीमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण कार्य अन्तिम चरणमा

Image

गोदावरी – नेपाल सरकारको साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ ।

डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ कार्य भइरहेको छ । राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहल्सल हल छन् ।

attariya hospital

करिब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको सङ्घीय योजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । संघीय योजना कार्यान्वयन एकाइका इञ्जीनियर पुजन न्यौपानेले फलसिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताए। उनले मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी दिए ।

navjiwan hospital

कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्ने गरी काम भइरहेको इञ्जीनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको इञ्जीनियर न्यौपानेले बताए । साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ ।

सिटीहल निर्माणका लागि एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमिन खरिद गरिएको थियो । इञ्जीनियर न्यौपानेले हालसम्म २२ करोड ६६ लाख खर्च भइसकेको बताए । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जनाइएको छ ।

धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताए । कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने उनको भनाइ छ ।

रासस