खाेज्नुहाेस

कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गर्न भीम रावल पक्षले बोलायो छुटै भेला

Image

धनगढी– कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गर्न भीम रावल पक्षले छुटै भेला बोलाएको छ । एमालेले आसन्न महाधिवेशन प्रतिनिधिका लागि ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि पठाइसकेको भएपनि उक्त पक्षले भने आजका लागि बैठक बोलाएको छ ।

कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौटमा भीम रावल पक्षले अस्वीकार गरेको थियो । सोही विवाद पछि कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जाल मार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका हुन ।

attariya hospital
navjiwan hospital

उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएको उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले लेखेका छन, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौँ ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

यस अघि सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि रतन थापा, डेजी पाण्डे, दल बहादुर बिष्ट, नर बहादुर खड्का, कमला ओली, टीका थापा, पदम पुरा साउँद, गजेन्द्र स्वार र धरम बहादुर थापामगरलाई छनोट गरिएको थियो ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताएका छन । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नौ जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।