खाेज्नुहाेस

धनगढीमा जेष्ठ नागरिक पहिचानका लागि सांकेतिक चिह्न राख्न सुरु

Image

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडामा ज्येष्ठ नागरिकका घरमा सांकेतिक चिह्न राख्न सुरु गरेको छ । ज्येष्ठ नागरिकलाई एकीकृत सेवा प्रवाहमा सहजता ल्याउन सांकेतिक चिह्न राख्न सुरु गरेको हो । फाया नेपालको सहकार्य, राष्ट्रिय मानवअधिकार आयोग, वेहडाबाबा ज्येष्ठ नागरिक समाजको तथा वडा कार्यालले ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अभियान सुरु गरेको वडा अध्यक्ष फूलराम चौधरीले बताए ।

वडा अध्यक्ष चौधरीले ७० वर्षभन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकको पहिचान गरी घरमा चिन्ह राखिएको बताए । अध्यक्ष चौधरीले अधिकाकांश मानिसले अक्षरभन्दा सांकेतिक चिह्नबाट बढी जानकारी लिने भएकाले वडा कार्यालयले सो अभियान सुरु गरेको बताए ।

attariya hospital

‘सुरुमा हामीले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमा रातो चिन्ह अंकित झण्डा राख्यौं चौधरीले भने, ‘त्यसबाट आएको सुधारका आधारमा वडा कार्यालयले अन्य उमेर समुहको पहिचान गरि अन्य सांकेतिक चिन्ह राख्छौ ।’

वडा अध्यक्ष चौधरीले ६० देखि ६९ उमेरसमुहका घरमा हल्का रातो अंकित झण्डा राख्ने, सुत्केरी तथा गर्भवती महिलाका घरमा सिमित अवधि तोकी हरियो झण्डा राख्ने योजना बताए ।

‘विपद जुन समयमा पनि आउन सक्छ । सो समयमा सबैभन्दा बढी प्रभावित हुने भनेको ज्येष्ठ नागरिक हुन । स्वास्थ्य, सुरक्षित गाँस, अन्य सरकारी सेवा प्रवाह लगायतमा उनीहरु वञ्चित हुन्छन् उनले भने, ‘हामीले ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउने सहज होस भनेर सांकेतिक चिन्ह राख्न लागेका हौँ ।’

उनले हरेक बालक तथा युवाहरु अन्तिममा ज्येष्ठ नागरिक बन्ने भएकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्न आग्रह गरे ।

navjiwan hospital

कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले नगरका हरेक वडामा एक आवास गृह बनाउने बताए । ‘ज्येष्ठ नगारिकहरु अहिले एक्लो बन्दै गएका छन ।

बालबच्चा विद्यालय जान्छन । युवायुवतीहरु रोजगारीमा हुन्छन । घरमा उनीहरुको हेरचाह गर्ने कोही हुँदैन’ नगर प्रमुख वडले भने, ‘ज्येष्ठ नागरिकको स्याहार तथा सहायता गर्न हरेक वडामा आवास गृह आवश्यक छ । सोही अनुसार मैले वडा अध्यक्षहरुलाई निर्देशन पनि दिइसकेको छु । अहिले उपमहानगरपालिको वडा नम्बर २ मा खाजासहितको आवास गृह सञ्चालनमा रहेको छ नगर प्रमुख वडले भने, ‘वडा नम्बर १४ मा प्रदेश स्तरकै आवासगृह सञ्चालनको अन्तिम अवस्थामा छ । कोभिड महामारीका कारण आवासगृहका कार्यक्रम प्रभावित भएका छन् । अवस्था सहज भए छिट्टै कार्यक्रम सुरु हुन्छ ।’

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनदेव जोशीले आयोगले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए । प्रदेश प्रमुख जोशीले ज्येष्ठ नागरिकले घण्टौंसम्म कुर्नुपर्ने, नागरिकता नहुँदा भत्ता नपाइने, घरभित्रै अवहेलना सहनुपर्ने लगायतका समस्या रहेको बताए ।

‘ज्येष्ठ नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारले विभिन्न ऐन, कानुन र नीति निर्माण गरेको छ’ जोशीले भने, ‘कुनै बहानामा घर निकाला गरे फौजदारी अपराध अन्र्तगत कारबाहीको पनि व्यवस्था गरेको छ ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले पुर्खौदेखिका सिप, कला, परम्परा, संस्कार, संस्कृति लगायतका धेरै कुरा हराउँदै गएको बताए ।

‘आजका युवायुवतीले ज्येष्ठ नागरिकसंग कुराकानी र अनुभव लिन छाडी सकेका छन्’ उनले भने, ‘यसले गर्दा हाम्रा पुर्खाका सिप, संस्कृति लोप हुँदै छन ।’ उनले युवायुवतिले आफू पनि ज्येष्ठ नागरिक बन्ने हेक्का राखी उनीहरुको सेवा गरेमा ज्येष्ठ नागरिकले सम्मानजनक रुपमा बाच्ने अधिकार सुनिश्चित हुने बताए ।

फाया नेपालका शेरबहादुर बस्नेतले सहजीकरण गरेको कार्यक्रममा जेष्ठ नागरिकलाई हिड्न सजिलो होस् भनेर स्टीक बितरण गरिएको थियो । कार्यक्रममा वडा नम्बर १५ उर्माका स्वर्गीय गंगाराम रानालाई मरणोपरान्त सम्मान गरिएको थियो । कार्यक्रममा सो क्षेत्रका भलमन्सालाई पनि दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।