धनगढी – दोधराचाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) काम सुरु भएको छ । जसका लागि इन्भारोमेन्टल एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौँसँग एक वर्षको सम्झौता गरि काम सुरु गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले कार्यान्वयन गराईरहेको दोधाराचाँदनी सुक्खा बन्दरगाहको ईआईएका लागि भदौं १८ गते इन्भारोमेन्टल एण्ड रिसर्च सेन्टर संग एक बर्षको लागि सम्झौता भएको थियो ।


१२ वर्षअघि घोषणा भएको दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि १२ अर्ब प्रस्तावित बजेट रहेको छ ।
हाल परामर्शदाता कम्पनी प्रस्तावित क्षेत्रको स्थलगत अध्ययन, निरीक्षण, प्रभावित क्षेत्रको अध्ययन तथा सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ ।
वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी टोलीका नेता अनिल केसीले दोधाराचाँदनी सुक्खा बन्दगाहको क्षेत्र निर्धारण प्रतिवेदन तयारीका लागि स्थानीयलाई जानकारी दिने, ठाउँ–ठाउँमा गएर जनपरामर्श गर्ने, जनप्रतिनिधि, वनका पदाधिकारीसँग पनि छलफल गरिरहेको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुल्ने जनाइएको छ । सुक्खा बन्दरगाहको गुरु योजना यसअघि नै तयार पारिसकेको छ ।


















