खाेज्नुहाेस

‘एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ’ लेखराज भट्ट

Image
navjiwan hospital

महेन्द्रनगर – नेकपा एमालेका नेता तथा पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् ।

‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटि बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरण सहितको नेकपा एमाले हो भन्नुभएको छ,’ प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने, ‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौँ ।’

नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको स्पष्ट पारेका छन् । ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ(रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन, ’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुझेरसँगै सहकार्य गरेर जाने हो ।’

एमाले सदूरपश्चिमको इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले त्यसलाई प्रष्ट्याएका हुन् ।