खाेज्नुहाेस

अत्तरियाका व्यवसायी भन्छन् : अब त अति भयो, कहिले सम्म सहने ?

Image

अत्तरिया – हातमा कालो ब्यानर लिएर अत्तरियामा केही व्यवसायी जम्मा भएका थिए । व्यानरमा लेखिएको थियो ‘अत्तरिया चोक वरिपरीको सडक निर्माणका लागि विरोध प्रदर्शन ।’

सोही व्यानर बोकेर केहि व्यवसायी चोक तिर अगाडी बढे । बिस्तारै प्रदर्शनमा एकिवद्धता जनाउँदै सयौं मानिसहरु भीडमा थपिए । त्यसपछि भीडमा सहभागिहरुले चोकका चारैतिरका सडकमा यातायात रोके । अनी चोकमा यातायात ठप्प भयो ।

attariya hospital

शुक्रबार दैनिक भोग्दै आएको समस्या सामाधानको माग गदै व्यवसायीहरु सडकमा आएका थिए । उनीहरुको एउटै पीडा थियो, चोकको समस्या अब त अती भयो । हामीले कहिले सम्म सहने ।

अत्तरिया चोकको समस्या केहि दिन र महिनाको होईन् । चोक मर्मत नहुँदाको समस्या यस क्षेत्रका नागरिकले भोग्न थालेको २ बर्ष बढी बितिसकेको छ । प्रदेसका बिभिन्न ठाउँमा जाने सवारी साधन ओहोरदोहोर हुने जक्सनका रुपमा रहेको यो चोकको वरिपरी अहिले एक टुक्रा कालोपत्रे छैन । जसले गर्दा चोक बर्षामा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुन्छ ।

चोकको दुर्दसाले यस क्षेत्रका नागरिक पीडित भएपनि सबैभन्दा बढी मारमा चोक वरिपरी व्यवसाय गर्ने व्यवसायी छन । ‘सडकको लापरवाहीले गर्दा खेरी त्यसको मार हामी व्यवसायीहरुले भोग्नु पर्ने कहिले सम्म ?’

अत्तरिया उद्योग वाणीज्य संघका अध्यक्ष अशोक राज देवकोटाले भने ‘कोरोना महामारीले व्यापार व्यवसाय चौपट छ । त्यसैमा चोकको धुलोले बिहान पसलबाट निकालेका सामान साँझ ड्यामेज हुने अवस्था छ । यसको जिम्मेवारी कसले लिने ?’

उनले चोकको दुर्दसा देख्दा देख्दै पनि यहाँको स्थानिय सरकार मौन बसेको बताए । ‘यो सडक स्थानिय सरकारको क्षेत्राधिकार भित्र नपर्ने भएपनि चोक नगरक्षेत्र भित्र त पर्छ’ उनले भने ‘यसको मर्मतका लागि नगरपालिकाले पहल त गर्नुपर्ने हो । झन हामीले पनि साथ थिएका छौ । तर, नगरपालिका पहल गर्नुको साटो कानमा तेल हालेर बसेको छ । मेयर साप बिहान बेलुका यही बाटो हिन्नु हुन्छ । वहाँलाई कुनै मतलब नै छैन ।’

उनले आफूले सडक मर्मतका लागि पटक–पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर चोकमा १ घण्टा चक्काजाम गर्नु परेको बताए । ‘यो हाम्रो सांकेतिक विरोध हो । अब हाम्रो मागको बेवस्था गरिए व्यपार व्यवसाय पूर्ण रुपमा बन्द गरेर सडकमा उत्रने छौ ।’

व्यवसायी यज्ञ राज जोशीले ठेकेदारले लामो समय देखि काम नगरेर चोकलाई अलपत्र छाडेको बताए । उनले ठेकेदारलाई काम गर्नुप¥यो भन्दा ठेकेदारले उपकरण नै नभएको बताउने गरेको बताए । ‘यस्ता लापरवाहीका विरुद्ध हामी सडकमा आएका छौ’ उनले भने ‘अब सम्बन्धित निकायले ध्यान नदिए आन्दोलन चर्काउन बाध्य हुनेछौ ।’

navjiwan hospital

उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले भने आफूले सडक मर्मतका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगर संग पटक पटक आग्रह गरेको बताए । मौसमले साथ नदिदा अहिले कालोपत्रे हुन नसकेको भन्ने सडक कार्यालयबाट जानकारी पाएको उनले बताए ।

‘सडक गोदावरी नगरपालिका मातहत नपर्ने भएकाले हामीले सडक मर्मतका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई बारम्बार घचघच्याएका छौ’ उनले भने ‘यो चोक पूर्व–पश्चिम राजमार्गमा पर्ने भएकाले हामीले यसमा काम गर्न मिल्दैन । नगरपालिकाले चोक मर्मत गरेन भनेर आरोप लगाउनु गलत हो । यो कुरा व्यवसायी तथा स्थानियले बुझ्नुपर्छ । तर, यो कुरा बुझेर पनि व्यवसायीहरुले राजनीतिक पृष्ठभूमिका कारण नगरपालिकालाई आरोप लगाउनु भएको छ । त्यस्तो होइन ।’

उनले पानी परेको समयमा सडक विभागले काम नगर्ने बताए । पानी परेकै समयमा कालोपत्रे गर्दा बेस कमजोर हुने भएकाले बर्षात रोकिएपछि कार्तीक भित्रै सडक बन्ने नगरप्रमुख साउँदले बताए ।

कालोपत्रे फुटेर लामो समय देखि अस्तव्यस्त बनेको अत्तरिया चोक मर्मतका लागि बैशाख पहिला साताबाट काम सुरु गर्ने गरी भुवन निर्माण सेवा प्रालि धनगढी संग ९० लाखमा सझौता भएको छ ।

तर, कोरोना महामारीका कारण जेठ अन्तिम साताबाट काम सुरु भएपनि हाल मौसमले साथ नदिएको भन्दै कालोपत्रेको काम रोखिएको छ । अहिले चोकमा ग्राभेल भरान पछि सडकमा पानी जम्ने समस्या कम भएपनि कालोपत्रे नहुँदा मौसम अनुसार सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ ।

सडक कार्यालयलाई ज्ञापनपत्र 

यसैबिच अत्तरिया चोक वरपरको सडक तत्काल कालोपत्रे गर्न माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका का.मु. डिभिजन प्रमुख नरेन्द्र प्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।

पत्र बुझ्दै सडक डिभिजन कार्यालय कञ्चनपुरका का.मु. डिभिजन प्रमुख भट्टले सक्रिय मनसुनका कारण कालोपत्रेको कार्यमा ढिलाई भएको बताएको संघका अध्यक्ष देवकोटाले बताए ।

‘मनसुन सकिने बित्तिकै ठेकेदार कम्पनिलाई निर्माणको कार्य गर्न निर्देशन दिईने का.मु. भट्ट सरले बताउनुभएको छ’ देवकोटाले भने ‘यदी ठेकेदार कम्पनिले आलटाल गरेमा त्यसलाई कारबाहीको प्रक्रिया अगाडी बढाईने र अर्काे टेन्डर खोलेर भएपनि कालोपत्रेको काम गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’