खाेज्नुहाेस

गोदावरीमा राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न माग

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरिएको गोदावरीमा राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न माग गरिएको छ ।

राजधानीको लागि संरचना निर्माणको माग गर्दै एकीकृत समाजवादीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले मुख्यमन्त्री त्रिलोचन्द भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका छन ।

attariya hospital

ज्ञापन पत्रमा राजधानी घोषणा भएको तिन बर्ष पुग्न लाग्दा पनि भौतिक संरचना निर्माणको काम अगाडी नबढेकाले यथासिघ्र काम अगाडी बढाउन माग गरिएको छ ।

यस्तै ज्ञापन पत्रमा अत्तरिया बसपार्कलाई प्रदेश स्तरीय बसपार्क बनाएर स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन, गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६ को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैंकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग गरिएको छ ।

navjiwan hospital

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताएका छन ।

जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ति हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए ।

डीपीआर निर्माणको काम भने चाँडै थालिने उनले बताए । अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

२०७५ साल असोज १२ गते गोदावरी नगरपालिका २ र ४ को तेघरीमा प्रदेशको राजधानी घोषणा गरिएको थियो । राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो ।

तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न सकेको छैन । प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति भने गठन गरेको छ ।