धनगढी – नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बिभाजन पछि प्रदेश सरकार अस्थिर बने । देशभरका धेरै प्रदेश सरकार परिवर्तन पनि भए । तर, सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको मुख्य मन्त्री भट्ट भने कहिल्यै अल्पमतमा परेका छैनन् ।
एमालेको राजनीतिक समिकरणमा बेला बेलामा परिवर्तन आएपनि मुख्यमन्त्री भट्ट भने जताबाट पनि बहुमतमा पुग्ने गरेका छन ।
एमाले संग सत्ता साझेदारी गरेको भट्ट सरकारले एमालेमा बिभाजन आएपछि अल्पमतमा पर्ने आशंका गरिएको थियो । तर, एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै उनलाई फेरी बहुमत पुगेको छ ।

प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो ।

गत २५ जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो ।
केन्द्र र कतिपय प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने के हुन्छ टुंगो लागेको छैन ।
५२ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२, नेकपा एमालेको ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको १/१ जना सांसद छन् ।
योसँगै सत्तारुढ गठबन्धनमा ४० सांसद पुगेका छन् । सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुगे पनि सरकारको संरचना हेरफेर हुने वा नहुनेबारे छलफल भएको छैन ।


















