दार्चुला – भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ ।
जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन ।

सोही घटनाको विषय लिएर केही दिनअघि मात्रै भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए ।
सो घटनाको विषयमा नेपाल सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउन निर्देशन नदिएकाले राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छैनन् ।
घटना लगतै सरकारले कूटनीतिक पहलमार्फत दार्चुला घटनाको छानबिन र कारबाहीका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको एक कूटनीतिज्ञले बताए ।

यो विषयलाई राजनीतिक र कूटनीतिक तहबाट हल गरिनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । परराष्ट्र मन्त्रालयमार्फत घटनाको विषयमा भारत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा योपटक दार्चुलाको स्थानीय प्रशासन र भारतको धार्चुलाको प्रमुख जिल्ला अधिकारीको तहमा पत्राचारमा सीमित हुन पुग्यो ।
तर, भारतको सीमा प्रशासनले एसएसबीको संलग्नताको विषयमा ठाडै अस्वीकार गरेपछि छानबिन प्रभावित बन्न पुगेको थियो ।
सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले तयार पार्न नसक्दा सरकारले भारतसँग सो घटनाको विषयमा ध्यानाकर्षण समेत गर्न सकेको छैन ।
छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नता किटान गर्दै दोषीउपर कानुनी कारबाही गर्न तथा धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको छ ।
घटना भएको एक महिना बितिसक्दा पनि सरकारले भारतीय राजदूत विनयमोहन क्वत्रालाई बोलाएर दार्चुला घटनाको विषयमा जानकारी दिनसमेत सकेको छैन ।
’ सरकारले घटना भएलगतै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्ने हो तर अहिलेसम्म धेरै ढिला भइसक्यो,’ परराष्ट्रका एक अधिकारीले भने ।
विगतमा यस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने गरिन्थ्यो ।


















