खाेज्नुहाेस

कञ्चनपुरमा ३२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे

Image

कञ्चनपुर – कञ्चनपुरमा ६ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्रे गरिएको छ ।

तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ । राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।

attariya hospital

पहिलो खण्डमा डोकेबजारदेखि बुटावारी सम्मको २० किमी लागि रु ३८ करोडमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमी सडक निर्माणका लागि रु. ४१ करोड र तेस्रो खण्डको २२ किमी सडकका लागि रु. ४० करोडमा ठेक्का सम्झौता भएको छ ।

बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । ‘विसं २०७३ मा राजमार्ग निर्माणको कार्य शुभारम्भ गरी विसं २०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो’ हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुप-यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि कार्य अगाडि बढाउन विलम्ब भएको छ ।’

राजमार्गको शुरुआतकै विन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउनका लागि बारम्बार तोकता गर्दै आए पनि नहटाइदा ३५ दिने सूचना जारी गरिएको उनले बताए । बेलौरीको पचुँइमा एक हजार ६०० मिटर राजमार्ग कालापत्रको कार्य भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रको कार्य अगाडि बढने सूचना अधिकारी मडैले बताए ।

‘तीन वटै ठेक्काको म्याद सकिएको छ’ उनले भने, ‘पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।’

navjiwan hospital

कोभिडलाई मध्यनजर गर्दै म्याद सकिएका निर्माण कम्पनीलाई छ महिना विभागले काम गर्नका लागि म्याद थप गरेपनि त्यो पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणको कार्यले गति लिन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माणको कार्य अगाडि बढाउनका लागि विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारीको भनाइ छ ।

राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यस बेला कालोपत्र गर्ने कार्य गुणस्तरयुक्त नहुने भएकाले काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्र गर्ने कार्य शुचारु हुने उनले बताए ।

राजमार्गको कूल चौडाई १२ मिटर छ । यसमा सात मिटर कालोपत्र गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र बाल निर्माण पूरा गरिएको छ ।

सडक कालोपत्रको पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीय बासिन्दाको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्र गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवगमनमासमेत अप्ठेरो परेको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरिकरण गरी गरिबी निवारणमा सघाउ पु¥याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ ।

राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाइनै सडकमा परिणत गरी राजमार्गको रुपमा विकसित गरिन लागेको छ ।

रासस