कञ्चनपुर – पर्याप्त सम्भावना भए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्न सकेका छैनन । देशकै एक प्रमुख गन्तव्यका रुपमा रहेको शुक्लाफाँटामा प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यहाँ पर्यटक भित्रिन नसकेको धेरैको गुनासो छ ।
सिमानाकाको जिल्लामा अवस्थीत उक्त राष्ट्रिय निकुञ्जमा स्थानियले बाहीरी मुलुकका पर्यटकहरुको बाक्लो उपस्थिति हुने अपेक्षा गरेपनि पर्यटकहरु न्युन मात्रामा आउने गरेको स्थानियहरुले बताएका छन ।

पछिल्लो पटक कोरोना महामारीका कारण पनि पर्यटक आउने क्रम घटेको छ । शुक्लाफाँटा एउटै संरक्षित क्षेत्रमा धेरै वन्यजन्तु हेर्न सकिन्छ । यहाँ पर्यटकले एकै स्थानमा बाघ, गैंडा र बाह्रसिंगाको झुण्ड देख्न सक्छन ।
निकुञ्ज कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शुक्लाफाँटा प्रवेश गर्ने पर्यटकको संख्या बढेको छ । गत आर्थिक वर्षमा ३ हजार पर्यटकले भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ हजार ७ सय ७५ पर्यटकले अवलोकन गरेका थिए । त्यसभन्दा अगाडी ०७५/०७६ मा १२ हजार बढी पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
कम क्षेत्रफलमा बढी बाघ भएको निकुञ्जका रुपमा यसलाई चिनिन्छ । आहारा प्रजातीका वन्यजन्तुको घनत्व पनि राम्रो छ । निकुञ्जभित्र सफारीका लागि स्तरीय बाटो निर्माण हुन सकेको छैन ।

सामान्य झरीमा पनि हिलोले गर्दा सवारी साधन चलाउनै मुश्किल हुने गरेको छ । यसबाहेक विभिन्न खोलाहरूमा पुलको अभाव देखिएको छ । ‘हात्ती सफारीका लागि हात्तीको संख्या निकै कम छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमले अयोजना गरेको पर्यटन प्रर्वद्धन सम्बन्धी अन्तरक्रियामा प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, ‘हामीले विभाग र अन्य निकुञ्जमा पनि हात्ती माग गरिरहका छौं, तर कतैबाट पनि पाउन सकेका छैनौं ।’
अहिले निकुञ्जमा १० हात्तीको दरबन्दी छ । तर यहाँ ६ वटा हात्ती मात्रै छन । ति मध्ये पनि १ बिरामी र १ बुढो भएका कारण सफारीमा प्रयोग गर्न सकिने अवस्था छैन ।
‘निकुञ्ज भित्रको बाटोको स्तरोन्नति अति आवश्यक छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘निकुञ्जको सबै क्षेत्रमा सहजै पुग्न सक्ने बाटो र खोला नालाहरूमा पुल निर्माण हुन सके यसको प्रचार प्रसार अझ बढ्न सक्छ ।’
उनका अनुसार जंगल सफारीका लागि शुक्लाफाँटा नेपालकै एक प्रमुख भ्रमण गन्तब्य भएपनि त्यसको प्रचार प्रसार हुन सकेको छैन । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँमा १६ बढी वयस्क बाघ छन ।
यसैगरि गत वर्ष गरिएको गणना अनुसार १७ वटा गैंडा छन । यहाँ प्रमुख आकर्षण मानिने बाह्रसिंगाको संख्या २४ सय बढी छ । दक्षिण एशियाकै विशाल शुक्लाफाँटा घाँसे मैदानमा विश्वकै ठुलो बाह्रसिंगाको झुण्ड देख्न पाइन्छ । यसबाहेक अन्य वन्यजन्तु, चराचुरुंगी र घस्रिने जनावरहरू पनि यहाँ पर्याप्त मात्रामा देख्न पाइन्छ ।
‘यति कुरा भएर पनि हामीले प्रचार प्रसार गर्न नसक्दा सिजनमै निकुञ्ज क्षेत्र सुनसान हुन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले भने, ‘हामीले थोरै भए पनि राजश्व तिरेर घुम्ने बानीको विकास गर्नु आवश्यक छ र त्यसमा गर्व गर्न सक्नुपर्छ ।’ गत वर्ष शुक्लाफँटासंग जोडिएका भारतका संरक्षित क्षेत्रमा गएर पनि यसको प्रचार प्रसार र संरक्षणका विषयमा छलफल भएको उनले बताए ।
निकुञ्ज प्रशासन र शुक्लाफाँटा नेचर गाइड एशोसिएसनले पदमार्गका विषयमा पनि अध्ययन गरेको छ । निकुञ्जको पुर्वी क्षेत्र मालुमेलादेखि शुक्लाफाँटा घाँसे मैदानसम्मको पदमार्ग राम्रो रहेको देखिएको छ ।
पहिलो दिन नै बाघ देखिएको र उक्त बाटो छोटो पनि भएकाले उपयुक्त देखिएको नेचर गाइड एशोसिएसनका अध्यक्ष वीरेन्द्र खातीले बताए । त्यसका लागि उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने उनले बताए ।


















