खाेज्नुहाेस

गोदावरीमा श्रमिक परिचय पत्र वितरण शुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले मजदुरहरूलाई श्रमिक परिचयपत्र वितरण सुरु गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बिच नगरक्षेत्र भित्र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई परिचय पत्र वितरणको शुभारम्भ गरिएको हो ।

नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा १० जना मजदुरलाई श्रमिक परिचय पत्र वितरण गरिएको थियो ।

attariya hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले आफू मजदुरहरूको हक हितका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको बताए । उनले असंगठित क्षेत्रमा कार्यरत मजदुरलाई परिचय पत्र वितरणले धेरै फाइदा पुग्ने बताए । ‘अहिले निर्माण गरिएको विधानमा केही त्रुटि भएमा हामीले त्यसलाई संशोधन गर्छौ’ श्रमिक परिचय पत्र वितरण समितिका संयोजक समेत रहेका नगरप्रमुख साउदले भने ‘विधान कार्यविधि श्रमिकको हितमा हुने गरी बनाउन आवश्यक छ ।’

उनले श्रमिकलाई परिचय पत्र वितरण गरेर श्रमिकको स्वास्थ्य बिमा लगायतका विषय यसमा समेटिने बताए । मजदुर बिना देशको विकास सम्भव नभएकाले मजदुरको हक हितका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको नगरप्रमुख साउँदले बताए ।

परिचय पत्र वितरण कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले श्रमिक परिचय पत्र वितरणले श्रमिक वर्गमा राम्रो सन्देश गएको बताइन् । उनले नगरपालिका भित्रका सबै श्रमिकको हातहातमा परिचय पत्र वितरण गर्न नगरपालिका लागिपर्ने बताइन् ।

नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीले श्रमिकलाई व्यवस्थित रुपमा कार्यविधि बनाएर परिचय पत्र दिने गोदावरी नगरपालिका देशभरमै पहिलो भएको बताए । उनले राम्रो कामको सुरुवात भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै अंकु नेपालका बाजी बिकले मजदुरलाई परिचय पत्र वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो दिन गोदावरी क्षेत्रका श्रमिकहरुका लागि एतिहासीक दिन भएको बताए । उनले परिचय पत्र वितरण सँगै मजदुरहरूलाई श्रमिकका नियम कानुन र सुविधाका विषयमा जानकारी गराउन आवश्यक रहेको बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै क्युपेक नेपालका दिपेन्द्र खत्रीले कार्यविधि अनुसार परिचय पत्र वितरण गरिए पनि त्यतिले मात्रै नपुग्ने बताए । उनले मजदुरलाई परिचयपत्र संगै, दुर्घटना बिमा, स्वास्थ्य बिमा लगायतका सुविधा उपलब्ध गराउने गरी कोष स्थापना गर्न आवश्यक रहेको बताए ।

navjiwan hospital

यस्तै काउन नेपालका धन राज जोशीले निकै लामो प्रयास पछि औपचारिक क्षेत्रमा काम गर्ने मजदुरले परिचय पत्र पाएकाले आफूहरू निकै उत्साहित भएको बताए । उनले आगामी दिनमा विधानमा आवश्यक संशोधन गरेर मजदुरलाई थप सुविधा दिनुपर्ने बताए ।

नगरपालिकाले २०७६ सालमा श्रमिक परिचय पत्र वितरण कार्यविधि तयार पारेको थियो । सोही कार्यविधि अनुसार नगरपालिकाले २०७७ फागुन देखि श्रमिक मजदुरहरूको फारम भर्न सुरु गरेको थियो । तर, कोरोना महामारीका कारण सो काम रोकिएको थियो ।

नगरपालिकाले नगरक्षेत्र भित्र रहेका ट्रेड युनियनहरू क्यूपेक, काउन र अंकु नेपाल मार्फत फारम सङ्कलनको काम गरिरहेको छ ।

श्रमिक परिचय पत्र वितरण समितिका सदस्य सचिव शिवराज भाटले हाल नगरपालिकामा ५० वटा श्रमिक परिचय पत्र वितरणका लागि तयार भएको र जसमध्ये १० जनालाई उद्घाटन कार्यक्रम मार्फत वितरण गरिएको बताए । उनले अन्य थप १ सय जना श्रमिकका फर्म पनि नगरपालिका कार्यलयमा जम्मा भइसकेको बताए ।

‘परिचय पत्र वितरणका लागि नगर प्रमुखको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको छ’ उनले भने ‘समितिले कसलाई परिचय पत्र दिन भनेर निर्णय गर्छ । सोही अनुसार परिचय पत्र वितरण हुन्छ ।’

उनले संगठित क्षेत्रमा काम गर्ने मजदुरलाई काम गर्ने संस्थाको परिचय पत्रको आधारमा वडाको सिफारीस ल्याएमा परिचय पत्र दिने व्यवस्था रहेको र असंगठित क्षेत्रमा काम गर्नेको हकमा बिभिन्न ट्रेड युनियन मार्फत भरेको फारमका आधारमा वडाकार्यालयले सिफारिस गरेमा परिचय पत्र दिने व्यवस्था रहेको बताए । श्रमिक परिचय पत्र लिनका लागि नगरपालिकाले २५ रुपैयाँ शुल्क तोकेको छ ।

नगरपालिका मार्फत परिचय पत्र पाएका श्रमिकहरुले परिचय पत्र पाएपछि आफूहरुलाई काम गर्न सहज हुने बताएका छन । श्रमिक परिचय पत्र पाएका गोदावरी नगरपालिका – ४ का राम बहादुर मल्लले आफूहरू स्थानिय तह आएदेखि परिचय पत्र बनाउनका लागि आवाज उठाउँदै आएको बताए ।

उनले ढिलै भएपनि परिचय पत्र वितरण सुरु भएकाले आफूहरू निकै खुसी भएको बताए । ‘परिचय पत्रले काम गर्न सजिलो हुन्छ । बाहिर ठाउँमा काम गर्न पनि सजिलो हुन्छ’ सिकर्मीको काम गर्दै आएका मल्लले भने ‘परिचय पत्र पाएपछि आफ्ना हक अधिकारका लागि बोल्न अब सहज हुने छ ।’

घर निर्माणको काम गर्दै आएका नर बहादुर बोहराले परिचय पत्र पाउँदा नगरपालिकाबाट केही सुविधा पाईने आशा बढेको बताए ।
नगरपालिकाले वितरण गरेको श्रमिक परिचय पत्रमा श्रमिकको नाम ठेगाना संगै श्रमिकले गर्ने कामको प्रकिृति समेत उल्लेख गरिएको छ ।