देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।


अहिले गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
















