माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ । तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।
त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी दिए ।

नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ।
सोही कागजपत्रलाई अन्तिम रूप दिनको लागि नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेताहरूलाई बोलाइएको छ ।
‘नयाँ राजनीतिक दल दर्ताको लागि सबै काम पूरा भएको छ । अध्यादेश जारी भएपछि आजै निर्वाचन आयोग जाने सम्भावना छ,’ नेपाल निकट एक नेताले भने ।

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीका लागि पाँच वटा नाममा छलफल भइरहेको ती नेताले बताए ।
उनले भने, ‘नयाँ पार्टीको नाम जुराउनका लागि केही साथीहरूलाई जिम्मेवारी दिइएको छ । उहाँहरूले पाँचवटा नाम सिफारिस गर्नु भएको छ । त्यसमा छलफल गरेर आज टुंगो लाग्छ,’ ती नेताले भने ।
सिफारिस भएका नामहरू नेकपा एमाले क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, नेकपा एमाले समाजवादी, नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी मध्ये एउटा नाम रोजिने नेताहरूले बताएका छन् ।
‘जनुसुकै नाम भए पनि पछाडि समाजवादी राख्नुपर्छ भन्ने धेरैजसो नेताहरूको मत छ । नेकपा एकीकृत समाजवादी वा नेकपा एमाले समाजवादीमध्ये एउटा नाम राखेर पार्टी दर्ता हुन सक्छ,’ नेपाल निकट स्रोतले बतायो ।
नयाँ बन्ने पार्टीमा तत्कालका लागि अध्यक्ष र वरिष्ठ नेता राख्ने गरी विधान तयार गरिएको छ । नयाँ बन्ने पार्टीको चुनाव चिन्ह भने पुस्तक, ताराभित्र हँसिया हथौडा र कलसमध्ये एउटा हुन सक्ने स्रोतले बतायो ।



















