तेघरीमा राज्यमन्त्री चौधरीलाई स्वागत गर्दै तेर्साइए विकासका माग
अत्तरिया – गौरीशंकर टोल सुधार समितिले सुदूरपश्चिम प्रदेश भौतीक पुर्वाधार विकास मन्त्रालयकी राजमन्त्री चुनकुमारी चौधरीलाई स्वागत गरेको छ । कैलालीको गोदावरी नगरपालिका – २ तेघरीमा रहेको उक्त समितिले शनिबार टोलमै आयोजना गरिएको एक कार्यक्रमका बिच राज्यमन्त्री चौधरीलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रमको अवसरमा टोल सुधार समितिले राज्यमन्त्री समक्ष टोलको विकासका लागि बिभिन्न माग समेत राखेका थिए ।
टोलमा रहेको वनदेवी मन्दिरमा आयोजित उक्त कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष पदम ओझाले ज्ञापन पत्र बुझाउँदै मन्दिर क्षेत्रमा सार्वजनिक हल, विवाह मण्डप र ट्वाईलेट भवन निर्माणका लागि माग गरेका थिए ।
तेघरी स्थित भिमदत्त राजमार्ग देखि करिब १ किलोमिटर भित्र अवस्थीत मन्दिर परिसरमा आवश्यक संरचना बनाउन सके सो क्षेत्रलाई प्रर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्न सकिने भएकाले आफ्नो कार्यकालमा सो क्षेत्रमा बजेट विनियोजन गर्न समितिका अध्यक्ष ओझाले राज्यमन्त्री समक्ष माग गरेका थिए ।
सोहि कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीले पनि प्रदेश सरकारबाट मन्दिर क्षेत्रमा आवश्यक पुर्वाधार बनाउन राज्यमन्त्री समक्ष आग्रह गरे । ‘वडा बाट वडाको गक्ष अनुसारका काम भईरहेका छन’ उनले भने ‘प्रदेशबाट पनि प्राकृतिक रुपमा रमणिय क्षेत्र वनदेवी मन्दिर परिसरका सार्वजनिक हल र विवाह मण्डप र ट्वाईलेट भवन निर्माणका लागि सहयोग गरिदिन आग्रह गर्दछु ।’
स्थानिय सामाजसेवी विश्वनाथ ओझाले टोल सुधार समितिबाट मन्दिर र पिपल चौतार निर्माण भएकाले सो क्षेत्रमा बिभिन्न धार्मीक, सामाजिक तथा राजनीतिक कार्यक्रम संचालन गर्नका लागि सभा हलको अति आवश्यकता रहेको बताए ।
माग पुरा गर्ने प्रतिवद्धता
कार्यक्रमलाई सम्बोधन गर्दै भौतीक पुर्वाधार विकास मन्त्रालयकी राजमन्त्री चौधरीले टोल सुधार समितिका माग पुरा गर्न आफू प्रतिबद्ध रहेको बताईन् । उनले गोदावरीको २ नम्बर वडा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको वडा पनि भएकाले यस क्षेत्रका विकास निर्माणका काममा कमि हुन नदिने बताईन ।
‘मैले यहाँबाट माग गरिएका योजना कार्यान्वय गराउन सक्दो प्रयास गर्ने छु’ राज्यमन्त्री चौधरीले भनीन ‘आफ्नो कार्यकालका लागि यो क्षेत्रका लागि म केहि न केहि गर्ने छु ।’
उनले वडामा आफूले पहल गरेर विभिन्न विकासका योजना हालेको स्मरण गर्दै आफू सधै विकास निर्माणका काममा अग्रसर रहने गरेको बताईन् ।
राजधानी निर्माणका विषयमा बोल्दै राज्यमन्त्री चौधरीले गोदावरीमा राजधानी निर्माणका लागि सुदूरपश्चिम सरकाले जुन हिसावले काम गर्नु पर्ने हो त्यो हुन नसकेको बताईन । उलने पछिल्लो समय सर्बे सम्मको काम भने भएको बताईन ।
‘आफू पनि राजधानी तोक्ने कार्यदल समितिमा भएकाले गोदावरीमा राजधानी बनाउन पाए यो देश र विश्वकै लागि नमूना राजधानी बन्छ होला भन्ने लागेको थियो’ उनले भनीन ‘अहिले यो क्षेत्रमा एक ईटा सम्म राख्न पाए आफूलाई ठुलो उपलब्धि हासिल गरेको महशुस हुने थियो ।’
सुदूरपश्चिम प्रदेश सभा बैठकले २०७५ असोज १२ गते कैलालीको गोदावरीमा राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । तर, राजधानी घोषणा भएको ३ बर्ष पुग्नै लाग्दा पनि भौतिक प्रगती शुन्य छ ।