खाेज्नुहाेस

कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

Image

कञ्चनपुर – कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।

बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

attariya hospital

कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।

navjiwan hospital

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताए । ‘सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ’, उले भने, ‘मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।’

बजार क्षेत्रमा मास्क नलगाइ हिँडेको पाइए सम्झाउने बुझाउने र मास्क लगाउनका लागि अह्राउने कार्य भइरहेको छ । मास्कको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई निःशुल्करुपमा मास्क उपलव्ध गराउने व्यवस्था भइरहेको उनले बताए ।

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै नगरपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन, औषधिको व्यवस्थाका लागि स्वास्थ्य शाखालाई निर्देशन दिइसकिएको उनको भनाइ छ । यसैगरी पुर्नर्वास नगरपालिकाले उपलब्ध संरचना तथा सेवा, होल्डिङ सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाएको छ ।

नगर प्रमुख जीवनराज थापाले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको बताए । ‘कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाएका छौँ’, उनले भने, ‘नगरपालिकासँग जोडिएको सीमानाका डोकेबजार गौरिफण्टालाई स्वास्थ्य जाँचको कार्यलाई व्यवस्थित बनाउनका लागि गैरसरकारी सङ्घसंस्था र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौँ ।’

रासस