अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका हुन ।


उनले लेखेका छन ‘नेकपा (एमाले) सितको रिस भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु माथि पोख्नु सरकाको लाचारीपन हो । गल्ती सच्याई आयोगलाई पनः सकिृय बनाउन सरकारलाई जनदवाव सिर्जना गरौं ।’
कृष्णपुर नगरपालिकामा आईतबार देखि अव्यवस्थित बसोबासीको जग्गा नापीको कार्य सुरु भएको थियो । भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो ।
सम्झौताबमोजिम नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत लिइएको छ । जसमध्ये भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जनाको लगत संकलन गरिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।













