काठमाण्डौं – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका पाँच वटा प्रदेशमा बुधवारबाट मनसुन थप सक्रिय हुने र तीन दिन केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ ।
विभागले बुधवार बिहान जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिको समयमा अत्यधिक वर्षाको सम्भावना छ ।


विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।’
बिहीवार रातिको समयमा भने सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रवार दिउँसोसम्म केही स्थानमा धेरै वर्षा हुने भए पनि रातिबाट सामान्य हुँदै जाने पूर्वानुमान छ ।













