खाेज्नुहाेस

मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधिको भोक मेट्ने अन्तिम अवसर

Image

काठमाडौं- ब्राजिलमा जारी दक्षिण अमेरिकी महादेशीय फुटबल च्याम्पियनसिप कोपा अमेरिका अर्जेन्टिनी स्टार लियोनल मेस्सीका लागि उपाधिको खडे‍री चिर्ने सम्भवत: अन्तिम अवसर रहने छ।

यसलाई कायम राख्न अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा कोलम्बियालाई हराउनु पर्ने छ। यो खेलको विजेताले  उपाधि भिडन्त ब्राजिलसँग तय गर्ने छ। विश्वकपका पछिल्ला संस्करणहरुमा युरोपेली टोलीहरुको दबदबा रहेका कारण सिनियर राष्ट्रिय टोलीबाट उपाधि जित्न मेस्सीलाई यो अन्तिम मौका देखिएको छ र ब्राजिल नै हो जहाँ मेस्सी नेतृत्वको अर्जेन्टिना सन् २०१४ मा आयोजित विश्वकपमा फाइनलसम्म पुगेको थियो।

attariya hospital
navjiwan hospital

उपाधि भिडन्तमा जर्मनीसँग अतिरिक्त समयमा पुगेर पराजित भएपछि सिनियर राष्ट्रिय टोलीबाट च्याम्पियन बन्ने मेस्सीको सपना अधुरै रहेको थियो। भलै, त्यस विश्वकपमा मेस्सी बेस्ट प्लेयर घोषित भएका थिए। त्यसयता ब्राजिलमै आयोजित कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलसम्म पुगेको थियो, २ वर्षअघि। तर त्यतिबेला घरेलु टोलीसँग २-० गोलले पराजित भएर बाहिरिएको थियो।

मेस्सीले अर्जेन्टिनाका लागि सन् २००५ मा फिफा यू-२० विश्वकप र २००८ मा आयोजित बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। तर उनले सिनियर राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन्। सर्वाधिक ६ पटक फिफा वर्ष खेलाडी हुनुका साथै थुप्रै कीर्तिमान बनाएका मेस्सीले सिनियर राष्ट्रिय टोलीबाट उपाधि नजितेसम्म उनलाई महान् खेलाडी भन्न नमिल्ने तर्क गर्ने जमात पनि ठुलो छ। ३४ वर्षीय मेस्सी खेलाडी जिवनको अन्त्यतिर लम्किरहेका छन्।

मेस्सी सन् २००५ यता सिनियर राष्ट्रिय टोलीमा छन्। यसबीचमा चारपटक फाइनल पुगेपनि उपाधि जित्न असफल भए। मेस्सीसहितको अर्जेन्टिना सन् २००७ , २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनल पुगेको थियो। तर पहिलोमा ब्राजिल र त्यसपछिका दुईवटामा चिलीसँग फाइनलमा पराजित भयो। सन् २०१४ को विश्वकपमा फाइनल पुग्दा मेस्सी लयमा थिए। जारी प्रतियोगितामा उनले चार गोल र चार असिस्ट गरेका छन्। मेस्सी बराबर कसैले गोल गरेको छैन। बुधबार बिहान हुने खेलमा उनले कम्तिमा एक गोल गरे सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलका पेलेले गरेको गोल संख्यासँग बराबरी गर्नेछन्। पेलेले ७७ गोल गरेका थिए तर उनले तीनवटा विश्वकप पनि जितेका थिए।

जारी प्रतियोगितामा अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरी खेलेयता लगातार चार खेल जितेको छ। समूहगत चरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलले हराएको ब्राजिलले क्वाटरफाइनलमा इक्वेडरलाई ३-० गोलले पराजित गरेको थियो। त्यस खेलमा मेस्सीले एक गोल र दुई असिस्ट गरेका थिए। अर्जेन्टिनाले १८ खेलयता अन्तर्राष्ट्रिय फुटबलमा हार ब्यहोरेको छैन। सन् २०१९ को जुलाईयता अर्जेन्टिनाले हार ब्यहोरेको छैन। यसबीचमा ११ जित र ७ बराबरी खेलेको छ।