बझाङ – भूस्वर्गका नामले परिचित खप्तड क्षेत्रको विकासका लागि प्रदेश, संघीय र स्थानीय सरकारले ६५ करोडभन्दा बढी खर्च गरिसकेका छन । राजनीतिक भागबन्डाका आधारमा समितिमा पदाधिकारी र कर्मचारी भर्ना गर्ने र कामै नगरी रकम खर्च गर्ने परिपाटीले यहाँ खर्चको तुलनामा भएको उपलब्धि नगण्य छ ।
यसरी वर्षौंदेखि सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको विकासको नेतृत्व सुदूरपश्चिम प्रदेश सरकारले गर्ने प्रतिबद्धता सरकारका मन्त्रीहरूले गरेका छन । आइतबार खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा मन्त्रीहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन ।


सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।
खप्तड क्षेत्रको विकासका लागि आधारभूत आवश्यकताका पूर्वाधार विकास योजना तत्कालै निर्माण गरिने, खप्तडको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।



















