खाेज्नुहाेस

कसरी चिन्ने सक्कली हिङ ?

Image

काठमाडौँ । हिङ नेपाली भान्साको स्वाद बढाउने मसला मात्र नभएर एक प्रभावकारी घरेलु औषधी पनि हो । पेट फुल्ने, अपच, कब्जियत र रुघाखोकी जस्ता विभिन्न स्वास्थ्य समस्याहरूमा हिङको सेवन गर्ने गरिन्छ ।

शरीरलाई फाइदा पुग्छ भनेर हामीले ढुक्कसँग खाने हिङ नै कमसल वा मिसावटयुक्त पर्यो भने यसले स्वास्थ्यमा उल्टै गम्भीर असर पु¥याउन सक्छ । त्यसैले, बजारबाट किनेर ल्याइने हिङ सक्कली हो वा मिसावटयुक्त, कसरी पहिचान गर्ने भन्ने विषयमा यहाँ केही सरल तरिकाहरू प्रस्तुत गरिएको छ :

attariya hospital

१. सुगन्धबाट चिन्नुहोस :

सक्कली हिङको सुगन्ध निकै कडा र तीखो हुन्छ । थोरै मात्रामा प्रयोग गर्दा पनि यसले सम्पूर्ण खानाको बास्ना बदल्न सक्छ । यदि यसको सुगन्ध हल्का वा कृत्रिम लाग्छ भने त्यसमा मिसावट भएको हुन सक्छ ।

२. पानीमा घोलेर :

शुद्ध हिङलाई पानीमा राख्दा दूधजस्तै सेतो रङ छोड्दै यो बिस्तारै घुल्छ । यदि पानीको पिँधमा धेरै छोक्रा वा दानाहरू छुट्टिएर बाँकी रहन्छन् भने त्यसमा स्टार्च वा अन्य कमसल पदार्थ मिसाइएको हुन सक्छ ।

३. जलाएर हेर्दा :

navjiwan hospital

सक्कली हिङ आगोको सम्पर्कमा आउनासाथ तुरुन्तै बल्छ र चम्किलो ज्वाला दिन्छ । यदि जलेपछि धेरै खरानी बाँकी रहन्छ भने त्यसमा मिसावट भएको बुझ्नुपर्छ ।

४. रङमा ध्यान दिनुहोस :

शुद्ध हिङ सामान्यतया हल्का खैरो वा पहेँलो रङको हुन्छ । अत्यधिक चम्किलो वा पूर्ण रूपमा सेतो पाउडर छ भने त्यसले मिसावटतर्फ सङ्केत गर्छ ।

मिसावटयुक्त हिङ कसरी बनाइन्छ ?

लागत कम गर्न व्यापारीहरूले शुद्ध हिङमा गहुँको पीठो, चामलको पीठो, स्टार्च, गम (गोंद), नुन र कृत्रिम रङहरू मिसाउने गर्छन् । यस्तो मिसावटयुक्त हिङको उपभोगले स्वास्थ्यमा निम्नलिखित असरहरू पु¥याउन सक्छ :

  • मिसावटयुक्त हिङले ग्यास्ट्रिक, पेट फुल्ने, अपच र पेट दुख्ने जस्ता समस्याहरू झन् बढाउन सक्छ ।
  • कृत्रिम रङ वा अन्य रसायनहरू मिसाइएको हिङ खाँदा कतिपय मानिसमा एलर्जी, छाला चिलाउने वा रियाक्सन हुने जस्ता समस्या आउन सक्छन् ।
  • हिङमा गहुँको पीठो मिसाइने हुँदा यसले ‘सेलियाक’ रोग वा ‘ग्लुटेन’ प्रति संवेदनशील भएका मानिसहरूमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
  • पाचन प्रक्रिया सुधार्न र ग्यासको समस्या कम गर्न मानिसहरूले हिङको प्रयोग गर्छन्, तर कम गुणस्तर वा मिसावटयुक्त हिङमा यी प्राकृतिक औषधीय गुणहरू हुँदैनन् ।

हिङ किन्दा ध्यान दिनुपर्ने कुराहरू :

  • विश्वसनीय र इजाजतपत्र प्राप्त ब्रान्डको मात्र हिङ छनोट गर्नुहोस् ।
  • प्याकेटमा लेखिएका सामग्रीहरू अवश्य पढ्नुहोस् ।
  • अत्यधिक सस्तो मूल्यमा पाइने हिङ किन्नबाट बच्नुहोस् ।
  • प्याकेजिङको सिल (छाप) र म्याद सकिने मिति जाँच्न नबिर्सनुहोस् ।