धनगढी – आर्थिक वर्ष ०८२/८३ मा सुदूरपश्चिम प्रदेश सरकारले कूल बजेटमा १३ अर्ब ५९ करोड ३२ लाख ८१ हजार ४३८ खर्च गर्न सकेन । चालु आर्थिक वर्षमा विनियोजित ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ रहेकोमा २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार ९६१ अर्थात (६२.३३ प्रतिशत) मात्र खर्च गरेको छ ।

कूल बजेटमा पुँजीगततर्फ १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार विनियोजन गरिएकोमा ११ अर्ब ५६ करोड ६८ लाख २६ हजार ५४६ (५८.३३ प्रतिशत) खर्च भएको थियो । चालुतर्फ १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार विनियोजन गरिएकोमा ९ अर्ब २७ करोड २४ लाख २५ लाख ४१४ अर्थात (६८.२२ प्रतिशत) खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीले बताएका छन् । यसरी पुँजीगततर्फ ८ अर्ब २६ करोड २८ लाख ५९ हजार ४५३ र चालुतर्फ ४ अर्ब ३२ करोड ४ लाख २१ हजार ९८५ खर्च हुन नसकेको हो ।

गत आर्थिक वर्ष ०८१/८२ मा प्रदेश सरकारले कुल ३१ अर्ब ६६ करोड ८८ लाख २८ हजार विनियोजन गरेकोमा २२ अर्ब २० करोड २५ लाख ५५ हजार (७०.११ प्रतिशत) खर्च गरेको थियो । आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल पेट्रोलियमलगायत सामग्रीको मूल्यबृद्धिले निर्माण कार्यमा बाधा भएको कारण पनि अपेक्षित खर्च हुन नसकेको बताउँछन् । ‘निर्वाचन, जेनजी आन्दोलनलगायतका कारणले पनि खर्च तालिकामा केही असर प¥यो,’ सचिव हमालले भने ‘हामीले ५५ प्रतिशत नाघ्दैन कि सोचिराथ्यौं, धन्न ६२ प्रतिशत पुग्यो ।’ कूल खर्चमा पनि असार तेस्रो सातापछिका ५ दिनमा मात्र झण्डै अर्ब खर्च गरेको भएको कार्यालयले जनाएको छ ।

















