दार्चुला – दार्चुलाको कालापानी क्षेत्र नजिक भारतीय सेनाको हेलिकोप्टर बिना अनुमति नेपाली आकाशमा प्रवेश गरेको विषयले नयाँ विवाद निम्त्याएको छ। २७ जेठ बिहान भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको छाङरु क्षेत्र हुँदै कालापानी पुगेको स्थानीय प्रशासन र सुरक्षा स्रोतहरूले बताएका छन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार उक्त हेलिकोप्टरले नेपाल सरकारसँग पूर्वअनुमति नलिई नेपाली हवाई क्षेत्र प्रयोग गरेको थियो।
सुरक्षा स्रोतका अनुसार हेलिकोप्टरमा भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए। उनी कालापानी क्षेत्रस्थित गुञ्जी ब्यारेक निरीक्षणका लागि गएको अनुमान गरिएको छ। हेलिकोप्टर छाङरुको बस्तीमाथि उडेपछि स्थानीयले विरोध जनाउँदै नाराबाजीसमेत गरेका थिए।


घटनाबारे सशस्त्र प्रहरीले तत्काल प्रशासनलाई जानकारी गराएको थियो भने जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई समेत अवगत गराइएको छ। प्रशासनले भारतीय पक्षसँग औपचारिक जवाफ माग्ने प्रक्रिया अघि बढाएको जनाएको छ। सहायक प्रजिअ धामीले मौसम सामान्य रहेकाले खराब मौसमका कारण हेलिकोप्टर नेपाली आकाशमा छिरेको भन्न नसकिने बताए।
पूर्वरथी शरद गिरीले विदेशी सैन्य हेलिकोप्टरले बिना अनुमति नेपालको हवाई क्षेत्र प्रयोग गर्नु गम्भीर विषय भएको भन्दै यसलाई ‘एयरस्पेस उल्लंघन’ का रूपमा लिनुपर्ने बताए। प्राविधिक कारणले नेपालतर्फ प्रवेश गरेको भए पनि सम्बन्धित देशले तत्काल जानकारी गराउनुपर्ने उनको भनाइ छ।
यसअघि पनि भारतीय हेलिकोप्टरले दार्चुला क्षेत्रको नेपाली आकाश प्रयोग गरेको घटनापछि नेपालले कूटनीतिक नोटमार्फत आपत्ति जनाएको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ भने भारतले त्यहाँ सुरक्षा बल तैनाथ गर्दै आएको छ। पछिल्लो घटनाले दुई देशबीचको सीमासम्बन्धी संवेदनशील विषय पुनः चर्चामा ल्याएको छ।
















