खाेज्नुहाेस

कसरी सञ्चालन हुँदै छ अत्तरियाबाट धनगढी सरेको डीडीसी ?

Image

अत्तरिया – करिब १५ वर्ष कैलालीको अत्तरियामा सञ्चालनमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को धनगढी दुग्ध वितरण आयोजना २०८२ पुस २१ गते देखि धनगढीमा सञ्चालनमा रहेको छ । अत्तरियामा २०६७ जेठ ३१ गते देखि सञ्चालनमा रहेको डीडीसी क्षमता विस्तारका लागि ठाउँ अभाव भएको भन्दै धनगढी सरेको थियो । अत्तरियाबाट करिब २२ किलोमिटर टाढा धनगढी उपमहानगरपालिका— १५ कनरीमा सञ्चालनमा रहेको डीडीसीले हाल धनगढीमा पर्याप्त भौतिक संरचनामा सञ्चालनमा रहेको छ ।

अत्तरियाबाट डीडीसी धनगढी सार्न थालिए पनि चर्को विरोध समेत भएको थियो । पहिलो पटक डीडीसी अत्तरियाबाट धनगढी सार्न खोजिएको भन्दै २०८१ पुस १६ गते स्थानीयले डीडीसी कार्यालय अत्तरिया घेराउ गरेर विरोध जनाएका थिए । त्यसको भोलिपल्ट गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको उपस्थितिमा वडा अध्यक्ष गोपाल दत्त भट्टको संयोजकत्वमा डीडीसीलाई अत्तरियामै जग्गा खोज्न कार्यदल गठन गरिएको थियो । सो कार्यदलले गोदावरीका केही ठाउँमा जग्गा देखाए पनि ती जग्गा उपयुक्त नभएको, वनको मातहतमा रहेको, भोग चलनमा ल्याउन झमेला हुने लगायतका कारण देखाउँदै डीडीसी धनगढी सरेको थियो ।

attariya hospital

धनगढीमा प्रदेश जडीबुटी प्रशोधन केन्द्रका लागि निर्माण गरिएको भवनमा हाल डीडीसी सञ्चालनमा रहेको छ । जुन धनगढी नगरपालिकाले डीडीसीलाई मासिक ७ हजार भाडा तिर्ने गरी डीडीसीलाई २५ वर्षे सम्झौता गरेका उपलब्ध गराएको छ ।

हाल डीडीसी अत्तरियाको भन्दा कम भाडा र बढी क्षेत्रफलमा फैलिएको संरचनामा सञ्चालनमा रहेको भए पनि अझै क्षमता विस्तार भने गरेको छैन । हाल अत्तरियाबाट लगिएकै उपकरण र केही मात्रै थप उपकरण जडान गरेर सञ्चालन भइरहेको छ ।

navjiwan hospital

डीडीसीको धनगढी दुग्ध वितरण आयोजना प्रमुख निरञ्जन भट्टराइले धनगढीमा सरेपछि डीडीसी कारखाना सञ्चालनमा सहज भएको बताए । उनले अत्तरियाको भन्दै निकै धेरै भौतिक संरचना उपलब्ध भएकाले कारखाना, स्टोर, प्रशासन सञ्चालनमा निकै सहज भएको बताए । उनले निकट भविष्यमा क्षमता विस्तार गर्ने योजना भए पनि हाल भने पुरानै उत्पादन सहित बजारीकरण गरिरहेको बताए ।

उनले हाल दैनिक ३५ सय लिटर सम्म किसानहरूबाट दूध सङ्कलन गरिरहेको बताए । जसमध्ये २५ सय लिटर सम्म यसै क्षेत्रमा खपत गरेर दैनिक एक हजार लिटर सम्म संस्थानका अन्य आयोजना कार्यालयमा पठाउने गरिएको बताए । उनले धनगढीमा डीडीसी स्थापना भएपछि निर्यात लातग घटेको बताए । ‘हुलाकी सडक हुँदै टिकापुर भएर दूध निर्यात गर्न यहाँबाट झन् छोटो परेको छ’ उनले भने ‘दूध खपत हुने ठुलो बजार धनगढी पनि यहाँबाट नजिक परेको छ ।’ उनले पहाडी जिल्लाबाट दूध सङ्कलनमा भने केही दुरी बढेको बताए । हाल डीडीसीले कैलाली, कञ्चनपुर सहित डडेल्धुराबाट दूध संकलन गर्दै आएको छ ।

‘हामीले लामो समयदेखि अत्तरियामै रहेको डीडीसीलाई अत्तरियामै व्यवस्थित तरिकाले सञ्चालन गर्न खोजेका हौ’ उनले भने ‘एक डेढ वर्ष अत्तरिया क्षेत्रमा उपयुक्त जग्गा नपाइएपछि बाध्य भएर धनगढी आएका हौ ।’ उनले हाल डीडीसी बजार भन्दा केही टाढा भए पनि पर्याप्त संरचना र ठाउँ भएकाले गुणस्तर कायम राख्नमा भने सहज भएको बताए । उनले हाल कारखानामा पर्याप्त ठाउँ भएकाले छुट्टाछुट्टै पार्टेसन गरेर उत्पादन भण्डारणको काम भइरहेको बताए । डीडीसीले हाल धनगढीको कारखाना सँगै बिक्री केन्द्र पनि सञ्चालन गरेको छ । आयोजना प्रमुख भट्टराईले अत्तरियाबाट डीडीसी सारिएपनि बिक्री केन्द्र भने अत्तरियामा कायमै रहेको बताए ।