खाेज्नुहाेस

धनगढीमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो, २ जना पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको बेवारिसे शवको पहिचान खुलेसँगै घटनाको रहस्य बाहिर आएको हो।

navjiwan hospital

नदी किनारमा नाम, थर र वतन नखुलेको अवस्थामा भेटिएको उक्त शव कैलारी गाउँपालिका वडा नम्बर ९ गदरिया बस्ने २० वर्षीय राजकुमार रानाको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाको अनुसन्धान गर्दै जाँदा रानाको स्वभाविक मृत्यु नभई हत्या भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानासहित चार जनाको समूहले राजकुमारलाई कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ। उनीहरूले हत्या गरिसकेपछि प्रमाण लुकाउने उद्देश्यले शवलाई त्रिवेणी घाटस्थित मोहना नदी किनारमा फालेका थिए।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। उक्त घटनामा संलग्न भई हाल फरार रहेका अन्य दुई जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।