धनगढी – कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन शुरु भएको छ । सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई मजबुद बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल सयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डाक्टर सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।

सम्मेलनका दौरान सङ्घीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर–व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा छलफल हुनेछ । त्यस्तै सम्मेलनले टीकापुर घोषणापत्र जारी गर्नेछ । सम्मेलनको दोस्रो दिन सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्ने र आवश्यक छलफलपछि पारित गरिनेछ ।



















