खाेज्नुहाेस

बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास

Image

टीकापुर – पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो ।

नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन् ।

attariya hospital
navjiwan hospital

नमूना अभ्यास तीन चरणमा आधारित भएर सर्तकता, चेतावनी तह, खतरा तहलगायत विषयमा गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी चौधरीले जानकारी दिइन् । टीकापुरको वडा नम्बर ६ भर्तापुरमा ८४ घर छन् । हरेक वर्ष बर्खामा यहाँ पथरैया नदीका कारण बाढीको जोखिम रहन्छ ।

बाढी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च र सुरक्षित घर व्यवस्थापन गरिएको समितिका अध्यक्ष चौधरीले उल्लेख गरिन् । नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो । बाढी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता पनि बढाइएको उनको भनाइ छ ।

प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले कर्णाली र पथरैया नदीको तटीय क्षेत्रका स्थानीयलाई बाढीका समयमा सुरक्षित रहने उपाय सिकाउन नमूना अभ्यास गरिएको बताइन् । कैलालीको टीकापुर नगरपालिकामा मात्रै समुदायस्तरमा ८० भन्दा बढी विपद् व्यवस्थापन समिति छन् । ती समितिमा खोज उद्धार र प्राथमिक उपचार कार्यदल पनि छन् । पालिकाले विभिन्न संघसंस्थाको सहयोगमा उनीहरूको क्षमता अभिवृद्धिलगायत कार्य गर्दै आएको छ ।