धनगढी – कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा मुत्यु भएकी युवतीका परिवारबीच सहमति भएको छ । युवतीका आफन्तले अस्पताल प्रशासनको लापरवाहीका कारण मुत्यु भएको भन्दै बुधबार बिहान देखि अस्पताल परिसरमा विरोध गरेका थिए । यस विषयमा दुवै पक्षबीच पटक–पटक भएको छलफलपछि अस्पतालले क्षतिपूर्ति दिने सहमति गरेको छ ।

गोदावरी नगरपालिका–६ लालपुरकी २२ वर्षीया सनम बिकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । जेठ ९ गते बिकको टन्सिलको शल्यक्रिया गरेर डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान पौने ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै विरोध गरेका थिए ।



















