अत्तरिया – नेत्र ज्योति संघ नेपाल अन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिचको विवाद तत्काललाई साम्य भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महताको उपस्थितिमा, अस्पताल प्रशासन, र कर्मचारी बिचको छलफल पछि विवाद साम्य भएको हो ।
छलफलमा कर्मचारीले उठाएका मागहरू तत्काल र दीर्घकालीन गरी पुरा गर्ने सहमति भएको छ । जसमध्ये कर्मचारीको तलब वृद्धिको विषयमा सहमति भएको र, एक महिना भित्रमा निर्णय गरिने सहमति भएको अस्पताल अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तले बताए ।

उनले आइतबारको बिदाका विषयमा आफूहरूले निर्णय गर्न नसक्ने भएकाले व्यवस्थापन समितिमा कुरा राख्ने सहमति भएको बताए । स्थायी र बढुवाको विषयमा पनि प्रक्रिया अघि बढिसकेको बताउँदै उनले प्रशासनबाट हुने कुरा तत्काल गरेर बाँकी कुरा एक हप्ता भित्र केन्द्रमा पठाइने बताए । उनले स्पष्टीकरण सोधिएको विषय जहाँ जति भएको छ त्यही रोक्ने सहमति भएको बताए ।
कर्मचारीले गत वर्ष नै वृद्धि गरिएको महँगी भत्ता पाउनुपर्ने, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्नुपर्ने, अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी आवश्यक जनशक्ति, दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । सोही क्रममा उनीहरूले मागको सुनुवाइ नभएको भन्दै जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष तथा प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

तालाबन्दी पश्चात् माग पुरा गर्नुको सट्टा प्रशासनले आन्दोलनमा सहभागी कर्मचारीलाई पटक–पटक स्पष्टीकरण सोध्ने, मानसिक दबाब दिने, त्रासको वातावरण सिर्जना गरिएपछि स्थानीय समेत कर्मचारीको पक्षमा विरोधमा उत्रिएपछि प्रशासन र कर्मचारीबिच सहमति भएको हो ।
स्थानीयका मुद्दामा छलफल गरिने
कर्मचारी आन्दोलन सहभागी स्थानीयले भने छुटै संघर्ष समिति बनाएर नेत्र ज्योति संघ नेपालको व्यवस्थापन पक्ष समक्ष माग राखेको छ । उनीहरूले स्थानीयको प्रतिनिधित्व नभएको लगायतका ६ बुँदे माग राखेका छन् ।
जस अन्तरगत कर्मचारी माथिको दमन अन्त्य गर्दै न्यायोचित मूल्याङ्कन हुनुपर्ने, उमेर हद नाघेका कर्मचारीले राजीनामा दिनुपर्ने, नेत्र ज्योति संघ नेपालको आजीवन सदस्यता खुला गरी स्थानीय नागरिकको अस्पताल प्रतिको बढी दायित्व हुने भएकाले ५० प्रतिशत स्थानीय प्रतिनिधि हुनुपर्ने, निहित व्यक्तिको उपस्थितिमा बनेको व्यवस्थापन समितिको औचित्य माथि प्रश्न चिन्ह खडा भएको हुँदा तत्काल आजीवन सदस्यता खुला गर्नुपर्ने, पुरानो व्यवस्थापन समिति भङ्ग गरी साधारण सभाको आह्वान गरी पुनः नयाँ कार्यसमिति चयन गर्नुपर्ने वातावरण बनाई समितिमा अध्यक्ष सहित ५० प्रतिशत स्थानीयको सहभागिता हुनुपर्ने, आजीवन सदस्यता शुल्क घटाउनु पर्ने र अस्पतालमा पर्याप्त चिकित्सकको पदपूर्ति गर्नुपर्ने माग राखिएका छन् ।
स्थानीयले उठाएका मुद्दामा भने एक साता भित्र हालको व्यवस्थापन समिति सँग छलफल गर्ने सहमति भएको समितिका उपाध्यक्ष यज्ञ चौधरीले बताए ।



















