अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा लागू औषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सोमबार वडा कार्यालयको सहयोगमा तथा प्रहरी चौकी गेटा सँगको सहकार्यमा अत्तरिया मिडिया प्रालिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले लागू औषध र कानुनी प्रक्रियाका बारेमा जानकारी गराएका थिए भने गोपाल जोशीले लागू औषधको प्रयोगबाट समाजमा हुने असरका बारेमा चर्चा गरेका थिए ।


प्रशिक्षण कार्यक्रम अघि भएको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष शुद्धिराम चौधरीले मानिसले आफ्नो अमूल्य जीवन लागू औषधको दलदलमा फसेर बिगार्न नहुनेमा जोड दिए । उनले आफ्नो शरीरको बारेमा सोच्ने मानिस नै अरूको बारेमा सोच्न सक्ने भएकाले आफैलाई माया गर्ने मानिस लागू औषधको दुव्र्यसनीमा नफस्ने बताए । ‘मानिसले बसैभन्दा बढी माया गर्ने भनेको आफ्नो शरीर हो’ उनले भने ‘तर, मानिस लत लागेपछि मानिस शरीरको माया गर्न छोड्छ । हामी आफ्नो शरीरका लागि सोच्दैनौ भने अरूका बारेमा सोच्ने कुरा हुँदैन ।’लतले मानिसलाई केही पनि सोच्न नसक्ने बनाउने भएकाले यसबाट टाढा रहन आवश्यक रहेको उनले बताए ।
जेष्ठ नागरिक समाजका वडा संयोजक अमर बोहराले लागू औषध घरबाटै निर्मूल गर्न सकिने बताए । उनले अभिभावकले विशेष निगरानी राखेमा लागू औषध नियन्त्रणमा सहज पुग्ने बताए । ‘आफ्नो बच्चालाई हरक क्षणमा निगरानी राख्नुपर्ने हुन्छ’ उनले भने ‘घरबाट अभिभावक र विद्यालयमा शिक्षकहरूले निगरानी राखेमा लागू औषधबाट बालबालिकालाई जोगाउन सकिन्छ ।’
सिद्ध बाबा माविका शिक्षक सुमन श्रेष्ठले लागू औषधको कुलतमा बालबालिका युवा फसेमा देशको भविष्य नै अन्धकार हुने बताए । लागू औषधको नियन्त्रणका लागि सबै निकायको सहकार्य हुन आवश्यक रहेको बताउँदै घरमा अभिभावक, विद्यालयमा शिक्षकले मोनटरिङ गरेमा यसको नियन्त्रणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, समाजका अगुवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले सबै पक्ष समेटेर आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी किरण भट्टले कार्यक्रम प्रभावकारी रहेको बताउँदै कार्यक्रममा सहभागी सबैले समाजमा लागू औषध नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने बताए ।
















