खाेज्नुहाेस

गणतन्त्र नेपाली जनताको ऐतिहासीक उपलब्धी हो : मुख्यमन्त्री शाह

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । शुक्रबार १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उनले गणतन्त्र स्थापना केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताए ।

navjiwan hospital

वि.सं. २०६५ साल जेठ १५ गते स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उनको भनाई छ । मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । साथै परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जनताप्रति उनले सम्मान व्यक्त गरे ।

attariya hospital

उनले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गरे । भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको उनको भनाई छ । प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको औल्याए । विकासका लागि सबैको साझा प्रयास अपरिहार्य हुने उनले बताए । सम्बोधनको अन्त्यमा मुख्यमन्त्री शाहले गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्दै समृद्ध नेपाल निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरे । उनले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, समावेशी विकास र सामाजिक न्यायप्रति थप प्रतिबद्ध बन्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।