अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया स्थित वनखेतस्थित अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महेन्द्र राजमार्गमा पूर्वबाट अत्तरियातर्फ आउँदै गरेको भे १ ह ०८७० नम्बरको अटोले ठक्कर दिँदा स्थानीय ६० वर्षीया पशुपति नेपाली गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि अटो र चालक गोदावरी नगरपालिका–११ ओलानी बस्ने ५५ वर्षीय प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















