खाेज्नुहाेस

गोदावरीमा सञ्चालित पोषण परियोजनाको अवलोकन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित पोषण परियोजनाको अवलोकन गरिएको छ । बुधवार केयर र आइडीई नेपालको आर्थिक सहयोग याक नेपालले गोदावरी नगरपालिका सँगको सहकार्यमा सञ्चालन गरेका योजनाको अवलोकन गरिएको हो ।

जसअन्तर्गत गोदावरी नगरपालिका – १२ तल्लो हलौडेमा निर्माणाधीन खानेपानी योजनाको अनुगमन गरिएको थियो ।

attariya hospital

याक नेपालको पोषण परियोजनाको ५ लाख, गोदावरी नगरपालिकाको २ लाख र स्थानीयको जनश्रमदानबाट निर्माणाधीन अवस्थामा रहेका १९ धाराको अवलोकन गरिएको परियोजनाका संयोजक रमण जोशीले बताए ।

उनले खानेपानीको समस्या भएको यस क्षेत्रमा खानेपानीको सहजताको लागि परियोजना सञ्चालन गरिएको बताए । उनले भने ‘खानेपानीले पोषणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले पोषणमा सुधार ल्याउन सहयोग गर्छ भनेर हामीले कार्यक्रम सञ्चालन गरेका थियौ ।’

उक्त अवलोकनका क्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, परियोजना सञ्चालन रहेका गोदावरी  ९, ११ र १२ का वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले वडामै खानेपानीको बढी समस्या भएको बस्ती छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

navjiwan hospital

उनले बस्ती देखि ३ किलोमिटर टाढा रहेको खानेपानी अस्थायी रूपमा पहिले पनि पाइप मार्फत ल्याइएको भए पनि व्यवस्थित नहुँदा समस्या भएको बताए । ‘पहिले मूलबाट पाइप मार्फत गाउँमा पानी पुगाइएको भए पनि त्यो व्यवस्थित थिएन । धेरै परिवारले एक ठाउँबाट पानी खानुपर्ने बाध्यता थियो । मूलमा पनि व्यवस्थित नहुँदा बाढीले बगाउने हावाले उडाउने समस्या थियो’ उनले भने ‘अहिले मूलमा पनि व्यवस्थित गरिएको छ । धारा पनि घर घरमा निर्माण भइरहेका छन् ।’

अवलोकनका क्रममा परियोजना अन्तरगत सहयोग गरिएको कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य केन्द्र अन्तरगत निर्माणाधीन सुरक्षित प्रसूति सेवा केन्द्र, गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि अवलोकन गरिएको थियो ।

कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख हेमराज भट्टले परियोजना अन्तरगत जनशक्तिहरूको क्षमता विकास तालिम, वर्थिङ सेन्टरका लागि आवश्यक सामाग्री सहयोग, वृद्धि अनुगमनका लागि आवश्यक सामग्री, पोषण लेखाजोखाको कार्यक्रममा आर्थिक, प्राविधिक सहयोग पाइएको बताए । उनले पोषण सँग सम्बन्धी सन्देश दिने बाल पेन्टिङ, पीएससीओआरसी सञ्चालन गरिएका २ ठाउँमा आवश्यक सामाग्री पनि सहयोग पाएको बताए । उनले भने ‘ समग्रमा सीमित श्रोत साधन भएको यो ठाउँमा नेपाल सरकारको नियमित कार्यक्रमबाट हुन नसकेका काममा परियोजना मार्फत सहयोग भएको छ ।’

परियोजना मार्फत विविधतापूर्ण पोषणयुक्त, स्वास्थ्य तथा सुरक्षित खाद्यवस्तुको समतामूलक उपभोग वृद्धि, गुणस्तरीय स्वास्थ्य र पोषण सेवाहरूमा समतामूलक पहुँच र प्रयोगमा वृद्धि, स्थानीय तहमा बहु क्षेत्रीय पोषण प्रवाह तथा आपूर्तिमा सुधार गर्ने लक्ष्य रहेको परियोजनाका संयोजक जोशीले बताए । उनले परियोजना अन्तरगत पोषणको अवस्थामा सुधार ल्याउनको लागि कृषिका कार्यक्रम पनि सञ्चालन गरिएको बताए । जसअन्तर्गत पोषण बगैँचा निर्माण, किसानलाई कार्ड मार्फत आर्थिक सहयोग लगायतका कार्यक्रम पनि सञ्चालनमा रहेको उनले बताए ।

परियोजनाको अवलोकनमा सहभागी स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले पोषण परियोजनाले नेपाल सरकारले पोषण मैत्री शासन पालिका घोषणाका लागि सहयोग पुगेको बताए ।