खाेज्नुहाेस

गोदावरी– ४ बास्कोटामा सञ्चालित आई.पि.एम. कृषक पाठशालाको समापन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बास्कोटामा सञ्चालित १७ हप्ते आई.पि.एम कृषक पाठशाला सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको जिविकोपार्जन तथा जैविक विविधताका लागि सामुदायिक सशक्तिकरण (इकोल्याब) परियोजना अन्तरगत सञ्चालित सो पाठशाला बुधबार सम्पन्न भएको हो ।

बास्कोटा सामुदायिक बन उपभोक्ता समुहसँगको सहकार्यमा रेडक्रसको इकोल्याब परियोजना अन्तरगत सृजनशिल आई.पि.एम. कृषक पाठशालाले अर्गानिक वस्तु उत्पादनलाई जोड दिनका लागि पाठशाला सञ्चालन गरेको थियो ।

attariya hospital

२०८२ माघ १७ गतेदेखी सुरु भएको आई.पि.एम. कृषक पाठशालाको बुधबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्लको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत टेक बहादुर बिष्ट रहेका थिए । कार्यक्रममा बोल्दै बिष्टले विषादीयुक्त खानेकुराहरुका कारण नै मानिसहरुमा पक्षघात हुने, गर्भ तुहिने, विकलांग बच्चा जन्मिने लगायतका समस्याहरु हुने गरेको बताए ।

navjiwan hospital

उनले किसानबाट नै विषादीयुक्त कृषिजन्य खानेकुराहरु उत्पादन हुने भएकाले त्यसको रोकथाम गर्नका लागि नै कृषक पाठशाला सञ्चालन गरिएको बताए । उनले कृषक पाठशालाले स्वस्थ बाली उत्पादन गर्न, मित्र किरा र सत्रु किरा चिन्न तथा स्वस्थकर वस्तुको उत्पादन गर्नका लागि महत्वपुर्ण रहेको समेत बताए । उनले पाठशालाले सिकाएका कुराहरुलाई व्यवहारमा उर्तान सके स्वस्थ र अर्गानिक वस्तुहरुको उत्पादन गरी आफू र समाजलाई स्वस्थ राख्न मद्धत पुग्ने भएकाले सिपको सही सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष हेमप्रकाश मल्लले नेपाल रेडक्रस सोसाइटीले आफ्नो वडामा सो कार्यक्रम ल्याएको भन्दै धन्यवाद ज्ञापन गरे । सडक नाटक तथा गितमार्फत पाठशालामा सिकेका कुराहरुलाई बाहिर ल्याउने काम कृषकहरुले गरेको पनि उनले बताए । उनले विषादीयुक्त कृषि उत्पादन खादा हुने समस्या र अर्गानिक कृषिजन्य वस्तुहरुको प्रयोगका विषयमा पाठशालामार्फत राम्रो शिक्षा प्राप्त भएको देखिएको बताए । उनले तालिम लिने, सिप सिक्ने तर कार्यान्वयन नगर्ने परिपाटीलाई किसानहरुले चिर्दै पाठशालामा सिकेको कुराहरुलाई अक्षरस पालना गरेर प्रयोगमा ल्याउनेछन् भन्ने आफूले विश्वास लिएको बताए । उनले आफ्नो सिपको सही सदुपयोग गरी आगामी दिनहरुमा अर्गानीक वस्तुहरुको उत्पादनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा रेडक्रसका कार्यक्रम अधिकृत समीर अवस्थीले पाठशाला सञ्चालन गर्नुको कारण र १७ हप्तामा सिकाईएका विषयवस्तुहरुका बारेमा जानकारी दिएका थिए । उनका अनुसार १७ हप्ता अघि गोदावरीमा उत्पादीत खुर्सानीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको भेटिएपछि आई.पि.एम. कृषक पाठशाला आवश्यक छ भनेर सञ्चालन गर्नुपर्ने योजना बनेको बताए । उनले किसानहरुलाई विषादी बिना नै तरकारी तथा फलफुल कसरी उत्पादन गर्न सकिन्छ र त्यसलाई कसरी उपभोग गर्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको बताए । उनले १७ हप्ते पाठशालामा राजा जातको काँक्रा उत्पादन गरिएको बताए । उनका अनुसार सो उत्पादीक काँक्राको विषादी परिक्षण समेत गरिएको थियो । जसमा शुन्य मात्रामा विषादी भेटिएको उनले बताए ।

कार्यक्रममा अर्गानिक कृषिजन्य वस्तुहरुको प्रयोग गर्नुपर्ने विषयमा सडक नाटक, चौधरी नाच तथा देउडा खेलिएको थियो । त्यसबाहेक पाठशालामा सहभागी कृषकहरुलाई कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।