अत्तरिया – अत्तरियाबाट बैतडी जानको लागि टिकट काटेका जनक जोशी आफ्नो सटको फेरले हावा हान्दै थिए । पङ्खाको मुनि उभिएका भए पनि उनी पसिनाले भिजेका थिए । अत्तरिया बसपार्कको प्रतीक्षालयमा एक दर्जन पङ्खा जडान गरिएका भए पनि एउटा पनि नचलेको देखेर उनी अचम्मित मात्रै भएनन् आक्रोश पनि पोखे । उनले चर्को गर्मीमा भएका पङ्खा पनि मर्मत नगरेर व्यवस्थापन पक्षले चरम लापरबाही गरेको बताए । ‘यहाँ पङ्खा भए पनि नघुम्ने रहेछन् । गर्मीले निकै सास्ती छ’ उनले भने ‘यहाँ व्यवस्थापनको एकदमै कमजोरी रहेछ ।’
प्रतीक्षालयमै भेटिएका शिवराज भट्टले बसपार्कको व्यवस्थापन एकदमै फितलो रहेको बताए । गोदावरी नगरपालिका – १० निवासी उनले बसपार्क, बसपार्क जस्तो नभएको बताए । ‘यसलाई प्रदेश राजधानीको बसपार्क भनिन्छ । बसपार्कको अवस्था हेर्दा दयनीय छ’ उनले भने ‘यो बसपार्कले यात्रुहरूको स्वास्थ्यमा नै प्रतिकुल असर परेको छ । कसलाई के भन्ने यसमा जिम्मेवार पक्षले ध्यान दिनुप¥यो ।’ उनले बसपार्कमा जडान भएका पङ्खा बिग्रिँदा यात्रुलाई निकै समस्या भएको बताए ।

उनले बसपार्कमा सरसफाइ नभएको, धुलाम्मे भएको, शौचालयको पनि उचित व्यवस्थापन नभएको बताए । उनले अहिले सम्म कालोपत्रे हुनुपर्ने बसपार्कको दुरावस्था रहेको बताए ।
बसपार्कमै भेटिएका उजल सिंह साउँदले पङ्खा बिग्रिँदा निकै समस्या भएको बताए । ‘यो नगरपालिकाले बनाउनु पर्ने हो वा कसले बनाउनु पर्ने हो बनाइदिएको भए हुन्थ्यो’ उनले भने ‘पङ्खा नहुँदा हामीलाई निकै समस्या भएको छ ।’


बसपार्कमा रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिको काउन्टरमा कार्यरत दिनेश खड्काले पङ्खा नचल्दा बसपार्कमा आउने यात्रुलाई निकै सास्ती भएको बताए । उनले नगरपालिकाले आएर पङ्खा बनाइदिएको भए यात्रुलाई राहत हुने बताए । उनले गत वर्षको गर्मीयाम देखि नै पङ्खा बिग्रिएको बताए । उनले गत वर्ष सामान्य मर्मत गरेर पङ्खा चलाएको भए पनि २/४ महिना चलेर बिग्रिएको बताए । उनले बसपार्कको ठेक्का लिएका ठेकेदारले पनि वास्ता नगरेको बताए ।
बसपार्कको पार्किङ शुल्क उठाउँदै आएको जय भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक गोकर्ण भट्टराइले भने पङ्खा मर्मतको काम नगरपालिकाको भएको बताए । उनले नगरपालिकामा पङ्खा मर्मतका लागि खबर गरेकाले मर्मत हुने जानकारी पाएको बताए ।
‘मर्मतको काम हाम्रो सम्झौतामा हुँदैन’ उनले भने ‘यहाँ मर्मत गरे पनि राती चोरी दिने, तोडफोड गर्ने गरिएको छ ।’ उनले सानोतिनो बिग्रिएको आफूले पनि मर्मत गरेको भए पनि बिग्रिरहने बताए । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले भने यस विषयमा जानकारी नभएको बताए । पछिल्लो समय अत्यधिक गर्मी बढेका कारण जनजीवन निकै प्रभावित भएको छ । ४० डिग्री तापक्रम नाघेको यस क्षेत्रमा दिउँसो तातो हावा चल्ने गरेको छ ।


















