खाेज्नुहाेस

नेपालका विश्वविद्यालयहरू सुधारका लागि सुझावहरू

Image

डम्मर सिंह साउद – नेपालमा रहेका विश्वविद्यालयहरु अन्तर्गतका सम्पुर्ण विभाग तथा क्याम्पसहरूको शैक्षिक तथा प्रशासनिक सुधारका लागि सुझावहरू निम्न बमोजिम रहेका छन्:

१. नियुक्ति प्रक्रिया र प्रशासकीय सुधार

attariya hospital

प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले पाउने सेवा, सुविधा, अवसर तथा नियुक्तिमा राजनीतिक भागबण्डा र पक्षपात अन्त्य गर्दै योग्यता र दक्षताका आधारमा निष्पक्ष नियुक्ति गर्नुपर्ने। विश्वविद्यालयभित्र व्याप्त रहेको दलीयकरणको पूर्णरूपमा अन्त्य गर्नुपर्ने।

राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने। राजनीतिक दलका सदस्य रहेका प्राध्यापक तथा कर्मचारीहरूले दलको सदस्यता त्याग्नुपर्ने।

राजनीतिक दलहरू निकटका शिक्षक प्राध्यापक कर्मचारी र विद्यार्थी सङ्घ संगठनहरू खारेज हुनुपर्ने। ऐन, नियम र कार्यविधिअनुसार सम्पूर्ण कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने।

नियमित रूपमा स्टाफ बैठक राखी गुणस्तरीय शिक्षाका लागि आवश्यक योजना तथा सुझावहरूको छलफल गर्नुपर्ने। क्याम्पस प्रशासनको पारदर्शिता वृद्धि गर्दै सम्पूर्ण सरोकारवालासँग छलफल गरी निर्णयहरू लिनुपर्ने।

२. शिक्षण-शिक्षण गुणस्तर सुधार

गुणस्तरीय र सान्दर्भिक पाठ्यपुस्तकहरूको व्यवस्था गर्नुपर्ने।

शिक्षण गुणस्तर वृद्धिका लागि समय-समयमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूसँग अन्तरक्रिया, गोष्ठी तथा तालिमहरू सञ्चालन गर्नुपर्ने।

आन्तरिक मूल्याङ्कनका गतिविधिहरू औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने।

सेमेस्टर प्रणालीअनुसार शैक्षिक पात्रोमा रहेका सम्पूर्ण क्रियाकलापहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने।

सेमेस्टर प्रणालीअनुसार कक्षा व्यवस्थापन गर्दा एक कक्षामा बढीमा ५० जना विद्यार्थी मात्र हुने गरी सेक्सन विभाजन गर्नुपर्ने। अनुसन्धान तथा सिर्जनात्मक प्रकाशन (जस्तै: अनुसन्धानात्मक जर्नल, क्याम्पस क्यालेन्डर, बुलेटिन आदि) नियमित रूपमा प्रकाशन गर्नुपर्ने।

३. विद्यार्थी सेवा र निष्पक्षता

छात्रवृत्ति वितरण तथा अन्य सेवाहरू निष्पक्ष रूपमा प्रदान गर्दै राजनीतिक पूर्वाग्रह तथा विभेद अन्त्य गर्नुपर्ने। परीक्षा हलमा विद्यार्थीमाथि गरिने विभेदपूर्ण व्यवहार रोक्दै निष्पक्ष र मर्यादित परीक्षा सञ्चालन गर्नुपर्ने।

कम्प्युटर ल्याबको मर्मत सम्भार गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने। क्याम्पसमा भएका सम्पूर्ण सामग्री (स्मार्ट बोर्ड, कम्प्युटर, प्रिन्टर आदि) को मर्मत सम्भार नियमित रूपमा गर्नुपर्ने।

navjiwan hospital

४. आर्थिक पारदर्शिता र सुशासन

क्याम्पसको बजेटको मनोमानी दोहन रोक्दै, सरोकारवालासँग छलफल गरी प्राथमिकता क्षेत्र निर्धारण गर्दै बजेटको सदुपयोग गर्नुपर्ने। ऐन, नियम मिचेर गरिएका सम्पूर्ण राजनीतिक भागबण्डाका नियुक्तिहरू खारेज गरी योग्यता र दक्षताका आधारमा निष्पक्ष रूपमा जिम्मेवारीहरू प्रदान गर्नुपर्ने।

क्याम्पसका कुनै पनि सम्पत्तिको निर्माण तथा खरिद प्रक्रियामा पारदर्शिता अपनाई स्वच्छ प्रतिस्पर्धाका आधारमा गुणस्तरीय सेवा तथा वस्तु उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने। प्रशासनिक, आर्थिक तथा शैक्षिक गतिविधिहरू पारदर्शी बनाउँदै सूचनाको हक सुनिश्चित गर्नुपर्ने।

५. अनुसन्धान तथा शैक्षिक विकास अध्ययन,

अनुसन्धान तथा सम्मेलनहरूमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई सहभागी गराई अनुसन्धानका लागि प्रोत्साहित गर्नुपर्ने।

प्रत्येक वर्ष गुणस्तरीय शिक्षा वृद्धिका लागि सभा, सम्मेलन, गोष्ठी, तालिम तथा अनुसन्धान कार्यका लागि अनिवार्य रूपमा बजेटको १०% छुट्याउनुपर्ने। विभिन्न संघसंस्था, समाज तथा समुदायसँग सहकार्य गरी प्रयोगात्मक कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गर्नुपर्ने।

६. कार्यसम्पादन मूल्याङ्कन र कार्यसमयको पालना

प्राध्यापक तथा कर्मचारीहरूको कार्यसम्पादन निष्पक्ष रूपमा मूल्याङ्कन गरी मेहनती तथा इमानदार व्यक्तिहरूको मनोबल वृद्धि गर्नुपर्ने।

विशेष जिम्मेवारी पाएका प्राध्यापक तथा कर्मचारीहरूले अनिवार्य रूपमा विश्वविद्यालयको नियमअनुसार प्रतिदिन कम्तीमा ७ घण्टा क्याम्पसमा उपस्थित हुनुपर्ने तथा अन्य प्राध्यापकहरूले कम्तीमा ५ घण्टा उपस्थित रही अध्ययन-अध्यापन गर्नुपर्ने नियमको कार्यान्वयन गर्नुपर्ने।

इ-हाजिरी प्रणालीलाई प्रभावकारी रूपमा लागू गरी, कार्यसमयसम्म क्याम्पसमा नबस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने।

७. संस्थागत एकता र समावेशिता

विभाग तथा क्याम्पसभित्र प्राध्यापक तथा कर्मचारीबीच रहेको गुटबन्दी अन्त्य गर्दै, सबैलाई समान अवसर दिने व्यवस्था गर्नुपर्ने।

सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई हरेक गतिविधिमा समावेशी बनाई क्याम्पसप्रति अपनत्वको भावना वृद्धि गर्दै कार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने।

क्याम्पस सञ्चालनमा एकलौटी प्रवृत्तिको अन्त्य गर्दै सम्पूर्ण सरोकारवालासँग छलफल गरी निर्णय लिने प्रणालीलाई प्रवर्द्धन गर्नुपर्ने।

यी सुझावहरू कार्यान्वयन गर्न सकेमा नेपालमा रहेका विश्वविद्यालयहरु अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसहरूको शैक्षिक तथा प्रशासनिक सुधार भई गुणस्तरीय शिक्षामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।

✍️ लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।