खाेज्नुहाेस

जनताको भरोसा जित्ने चुनाव हुनुपर्छ

Image

कैलाली जिल्ला क्षेत्र नम्बर ४ मा चुनावी माहोल विस्तारै तातिँदै गएको छ । गाउँ–टोलमा भेटघाट, घरदैलो, चिया पसलका बहस र सामाजिक सञ्जालमा छलफल बढिरहेका छन् । यसपटकको निर्वाचनको अन्य समयको तुलनामा पृथक र फरक छ । यसपटकको चुनाव केवल पार्टीको झण्डा र नारामा सीमित छैन, जनताले परिणाम खोजिरहेका छन् ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा पुराना र नयाँ शक्ति बीच देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले वाम एकताको सन्देश दिँदै स्थिर सरकार र विकासको एजेण्डा अघि सारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विगतका योजना र अनुभवलाई आधार मानेको छ भने नेपाली कांग्रेसले लोकतन्त्र र विकासको निरन्तरताको कुरा उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र भ्रष्टाचार विरुद्धको मुद्दा जोडतोडले उठाइरहेको छ । सबै पार्टीका उम्मेदवारहरुले आफ्ना भिजन र एजेण्डा अघि सारेका छन । सबैका भाषणमा विकास छ, तर जनताले अब काम देख्न चाहेका छन् ।

attariya hospital
navjiwan hospital

कैलाली क्षेत्र नम्बर ४ को भौगोलिक बनावट आफैंमा विविध छ । एकातिर चुरे क्षेत्रका भिरालो भूभाग छन् भने अर्कोतिर तराईका समथर फाँट । वर्षायाममा मोहना, खुटिया जस्ता खोलाले बाढी र डुबान निम्त्याउने गर्छन् । चुरे दोहन र अव्यवस्थित बसोबासले समस्या झन् जटिल बनेको छ । त्यसैले यहाँको विकास योजना भूगोलअनुसार फरक–फरक हुनुपर्छ । चुरे क्षेत्रमा वन संरक्षण, पहिरो नियन्त्रण र जलस्रोत संरक्षण प्राथमिकता हुनुपर्छ भने तराई क्षेत्रमा व्यवस्थित सिंचाइ, तटबन्ध र कृषि आधुनिकीकरण जरुरी छ ।

विकास निर्माणका लागि स्पष्ट रोडम्याप आवश्यक छ । बाढी नियन्त्रण र नदी व्यवस्थापनको दीर्घकालीन योजना, कृषि उत्पादनलाई बजारसँग जोड्ने कोल्ड स्टोर, संकलन केन्द्र र उद्योग स्थापना, अत्तरिया जस्ता बढ्दो बजार क्षेत्रमा व्यवस्थित सडक विस्तार, ट्राफिक व्यवस्थापन र फोहोर प्रशोधन केन्द्र, युवालाई सीपमूलक तालिम र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सेवा विस्तार पनि समान रूपमा आवश्यक छ । सबै दल तथा उम्मेदवारहरुले यस्ता समग्र योजनाहरु आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेका पनि छन । तर अहिले जनताले विगतको जस्तो चुनावी एजेण्डा मात्रै बनाउने विषयलाई पत्याईरहेको अवस्था छैन । जनताले अझै पनि भरोशा गर्न सकेको अवस्था देखिएको छैन ।

सरकार फेरिने क्रम, दलहरूबीचको खिचातानी र राजनीतिक अस्थिरताले विकासको गति सुस्ताएको छ । त्यसैले जनता थाकिसकेका छन् । जनतालाई अब भाषण होइन, विकास अनि सुशासन चाहिएको छ । त्यो भन्दा नी माथि जनतालाई अब भरोसा चाहिएको छ, जितेको उम्मेदवारले जनताको हितमा काम गर्नेछ भन्ने भरोशा ।

यसपटक मतदाताले पार्टीभन्दा पनि उम्मेदवारको इमान्दारी, काम गर्ने क्षमता र भूगोल बुझ्ने दृष्टि हेर्नुपर्ने समय आएको छ । कैलाली क्षेत्र नम्बर ४ ले यदि आफ्नो भौगोलिक अवस्था र जनताको आवश्यकता बुझ्ने नेतृत्व छान्न सक्यो भने समृद्धिको बाटो खुल्नेछ । होइन भने फेरि उही समस्या दोहोरिनेछ । अब निर्णय जनताको हातमा छ—र यही निर्णयले क्षेत्रको भविष्य तय गर्नेछ ।