धनगढी– कञ्चनपुरमा नक्कली भारतीय रुपैया सहित ५ जना पक्राउ परेका छन । जिल्लाको शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरबाट प्रहरीले नक्कली भारतीय रुपैया सहित ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडी चेकजाँच गर्दा ५ सय दरका १४७ वटा नक्कली भारतीय नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारत बरेली तेसिलमिगञ्ज ग्रामका २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारतको बरेली उदमासिहंनगर उत्तराखण्डका २४ वर्षीय हिंमासु शर्मा रहेको बताए ।
उनका अनुसार गाडीमा नक्कली नोट ल्याइँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले गाडीलाई पछ्याएको थियो । त्यसक्रममा जोनापुरस्थित नेपाली सेना रणसिंह सुरक्षा गण पोस्टमा गाडी रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद गरिएको हो । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















