खाेज्नुहाेस

कञ्चनपुरका बाढीपीडित आन्दोलित, तटबन्ध निर्माण गर्न माग

Image

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितहरु आन्दोलनमा उत्रेका छन् । जोगबुडा नदीमा पक्की तटबन्धको माग गर्दै उनीहरु बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रेका हुन् । जोगबुडा नदीको डुबानमा परेर विस्थापित भएकाहरु बोरामा पिठो चामल बोकेर सांकेतिक रुपमा नगरपालिकालाई राहात दिन आएका हुन् । ‘यो एक बोरा चामल हामीलाई चाहिएन, नदी किनारमा पक्की तटबन्ध बनाइदिनुप¥यो,’ दोधारा चाँदनी–८ जर्गा टोलकी यमुना मगरले भनिन्, ‘आकाशबाट पानी झर्नेबितिक्कै हामीले जहिल्यै विस्थापित हुनुपर्ने, पक्की तटबन्ध बनाएर यसबाट मुक्ति दिनुप¥यो ।’

यसै साता जोगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा उनको परिवार पनि विस्थापित भएको थियो । बाढीबाट जोगिन रातको समयमा बालबालिका बोकेर विद्यालय जानु, झरीका बेला छाता ओडेर छतमा रात बिताउनु लगायतका दुःख भोग्दै आएको उनी बताउँछिन् ।

attariya hospital
navjiwan hospital

‘ज्यान त जेनतेन जोगायौं, घर भित्रको पिठो चामल र अन्य खाद्यान्न सबै भिजेर बिग्रियो, लुगाकपडा पनि सबै भिजेका छन्,’ मगरले भनिन्, ‘हरेक वर्ष हामीले यो पीडा झेल्नुपर्छ ।’ उनले त्यही भएर अब एक बोरा चामल वा दुई÷चार किलो दाल दिनुभन्दा पक्की तटबन्ध निर्माण गर्नुपर्ने माग रहेको बताइन् ।

‘अहिले पनि हाम्रो घरभित्र पानी र लेदो छ, त्यही पन्छाएर बस्दै छौं,’ जर्गा टोलकै बाढीपीडित चन्द्रबहादुर सुनारले भने, ‘बर्खाका बेला हामीले कहिल्यै सुरक्षित बस्न सकेका छैनौं, यो त्रासको अन्त्य होस् ।’ जोगबुडा नदीमा बाढी आउनेबित्तिकै बस्ती डुबानमा पर्ने भएकाले यसको समाधान खोज्नुपर्ने उनले बताए । प्रभावित गाउँबाट आएका पीडितहरु नगरपालिकाको कार्यालयमा पुगेका हुन् । उनीहरु सबैको एउटै भनाइ छ, ‘अब राहत होइन, राहात दिनुपर्ने अवस्थाकै अन्त्यका लागि पक्की तटबन्ध चाहिन्छ ।’

यसै साता जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापुर जर्गा टोल तथा वडा नं. १० को शान्ति टोलका ५२ परिवारसँगै सशस्त्र प्रहरीका २ वटा बीओपी समेत डुबानका कारण विस्थापित भएका थिए । जसमध्ये पटेराखल्लाका १५ परिवारबाहेक अन्य क्षेत्रका विस्थापित घरभित्रको लेदो र पानी पन्छाएर घर फर्किएका छन् भने पटेरा खल्लाका विस्थापित भने नजिकैको विद्यालयमा बसिरहेका छन् ।