खाेज्नुहाेस

देशभरका सबै स्वतन्त्र एक ठाउँमा आउनु पर्छ : सांसद जोशी

Image

अत्तरिया – कञ्चनपुरको गड्डाचौकीबाट देशभरिका स्वतन्त्रलाई एक ठाउँमा ल्याउन अभियानको शुभारम्भ गरिएको छ । पछिल्लो समय स्वतन्त्र रूपमा चुनाव लडेर काम गरिरहेका विभिन्न पालिकाका प्रमुख तथा अन्य क्षेत्रमा स्वतन्त्र रूपमा काम गरिरहेका व्यक्तिलाई एक ठाउँमा ल्याउन अभियान सुरु गरिएको हो । अभियानले सबै स्वतन्त्र विचार राख्नेहरूलाई एक ठाउँमा ल्याएर राष्ट्र निर्माणको नयाँ अभियान थालनी गरिने उद्घोष गरिएको छ ।

मंगलबार कञ्चनपुरको गड्डाचौकीमा अभियानको शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेश सभाका सांसद तारा प्रसाद जोशीले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म राजनीति प्रति चासो, विकास प्रति चासो र राष्ट्रप्रति जिम्मेवारी राख्ने सबै स्वतन्त्र व्यक्ति एक ठाउँमा आउनु पर्ने बताए । ‘स्वतन्त्र मनहरू एकत्रित हुनुपर्छ । यो पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म राजनीति प्रति चासो विकास प्रति चासो राख्ने, राष्ट्रप्रति जिम्मेवारी राख्ने सबै स्वतन्त्र व्यक्ति एक ठाउँमा आउनु पर्छ । एक मन बनाउनु पर्छ । यो अभियानले जनतामा चेतना पनि विकास गर्ने छ’ उनले भने ‘स्वतन्त्र मन एकजुट भएर मात्रै हुँदैन, सोच्ने तरिका पनि स्वतन्त्र हुनुपर्छ । हामी स्वायत्त हुनुप-यो । त्यसो हुँदा प्रतिगत आग्रह पूर्वाग्रह हुँदैन । यसरी पार्टीहरू पनि कार्यक्रममा आधारित हुन बाध्य हुन्छन् ।’

attariya hospital

उनले नेपालको राजनीतिक धरातलमा धेरै पार्टी नअटाउने भएकाले अहिले नयाँ ढङ्गले सोच्ने स्वतन्त्र व्यक्ति एक ठाउँमा आउने पर्ने बताए । ‘अहिले यो देशको राजनीतिक धरातलमा धेरै पार्टी अटाउँदैनन्। त्यसैले कम्तीमा नयाँ ढङ्गले सोच्ने पार्टीहरू, व्यक्तिहरू एक ठाउँमा आउन आवश्यक छ । स्वतन्त्रको नाममा, नयाँ शक्तिको नाममा विभाजित भएर हुँदैन यी पार्टीहरू कार्यक्रमको आधारमा एक ठाउँमा आउनु पर्छ’ उनले भने ‘देशको कृषि क्षेत्रको कार्यक्रम के हो । देशको राष्ट्रियताको जगेर्नाका लागि कार्यक्रम के हो ? देशको औद्योगीकरणको कार्यक्रम के हो ? देशको सामाजिक क्षेत्रको न्यायको कार्यक्रम के हो ? यी कार्यक्रमको आधारमा बहस गरेमा यी शक्ति एक ठाउँमा आउन सक्छन् । अब धेरै पसल थापेर सम्भव छैन ।’

navjiwan hospital

कञ्चनपुर नागरिक समाजका अगुवा कृष्ण दत्त जोशी (बक्सर) ले अहिले जागरूक युवा, विदेशिरहेका बेला यसै देशमा बसेर देशको चिन्ता गर्ने नागरिक एक हुनुपर्ने बताए । उनले अहिलेको देशको नेतृत्व गरिरहेकाहरूले आफ्नो स्वार्थका लिप्त भएको बताए । उनले भने ‘अब, बालेन, हर्क, कुलमान, तारा जोशी एक एक गरेर पार्टी खोल्ने भन्दा पनि सबै एक ठाउँमा आउनु पर्छ । अब नयाँ ढङ्गले सोच्ने मान्छे एक ठाउँमा आउनु पर्छ ।’

स्वतन्त्रलाई एक ठाउँमा ल्याउन सुरु गरिएको समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपालका संयोजक प्रेम राज भट्ट देशमा छाइरहेको निराशालाई चिर्नको लागि सबै जनता स्वतन्त्र हुन आवश्यक रहेको बताए । उनले देशमा सबल र सक्षम नेतृत्व स्थापित नहुँदा सम्म देश समृद्ध बन्न नसक्ने भन्दै त्यसका लागि पश्चिमको महाकालीबाट अभियानको शुभारम्भ गरिएको बताए । ‘जबसम्म नागरिक स्वतन्त्र बन्दैनन् । तबसम्म सबल र सक्षम नेतृत्व स्थापित हुन सक्दैन । नेतृत्व सुधारका लागि आम देशैभरका नागरिक स्वतन्त्र भयो भने मात्रै सक्षम नेतृत्व स्थापित हुन्छ । यही सन्देश पश्चिमको महाकालीबाट पूर्वको मेचीसम्म दिने सङ्कल्पका साथ हामी यो कार्यक्रम शुभारम्भ गरेका छौ’ उनले भने ‘हामीले स्वतन्त्रको विचार पश्चिमको महाकालीबाट पूर्वको झापा सम्म संम्प्रेसण गर्नको लागि कार्यक्रम सुरु गरेका छौ ।’

उनले अहिले नेताहरूका अघिपछि घुम्ने कार्यकर्ताका कारण देश विकास हुन नसकेको जिकिर गरे । ‘यो कार्यक्रमले देशै भरी फरक किसिमको सन्देश प्रभाव गर्ने छ । जो नेताहरूको पछाडि लाग्ने कार्यकर्ता थिए । त्यही कारणले नेताहरूले आजसम्म देशको चिन्ता नगरेको परिवेश छ’ उनले भने ‘यो कुराबाट वहाहरुले पनि पाठ सिकेर पार्टी भित्रै पनि सबल र सक्षम नेतृत्वलाई पार्टीमा स्थान दिएर देश र जनताप्रति नेतृत्व पनि चिन्तित विश्वास लिएका छौ ।’

अभियान अन्तरगत पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा कोष सभाको आयोजना गरेर २० गते मेची पुग्ने कार्यक्रम रहेको छ । अभियान २१ गते धरानमा पुगेर हर्क साम्पाङ मार्फत समापन गरिने बताइएको छ ।

सम्बन्धित समाचार : ‘स्वतन्त्रको एकता महाकाली मेची यात्रा’ सुरु, स्वतन्त्र सांसद जोशीले गरे शुभारम्भ