हरेक वर्ष मे १ (वैशाख १८) का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइन्छ । यो दिवसले श्रमिकहरूको अधिकार, योगदान र श्रमको मूल्यलाई सम्मान गर्ने अवसर दिन्छ । नेपालका लागि यो दिवस झनै महत्वपूर्ण छ, किनभने लाखौं नेपालीहरू स्वदेश तथा विदेशमा श्रम गरेर मुलुकको अर्थतन्त्र धानिरहेका छन् । तर दुःखद कुरा, श्रमको सम्मान अझै पनि उपेक्षित छ । समाजमा श्रमलाई सानो–ठूलो भनेर वर्गीकृत गर्ने, श्रमिकलाई दोस्रो दर्जाको नागरिक ठान्ने प्रवृत्ति हट्न सकेको छैन । यस सन्दर्भमा हामी भन्न सक्छौं — श्रमले मात्र समृद्धि ल्याउँछ, तर श्रमको सम्मान बिना त्यो समृद्धि टिकाउ हुँदैन ।
नेपाल एक श्रमप्रधान देश हो । कृषि, निर्माण, उद्योग, सेवा, पर्यटन, यातायात, घरेलु काम, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा करोडौं नेपाली श्रमिक कार्यरत छन् । ती श्रमिकहरूको श्रमले नै आजको नेपाल बनेको हो । तर, अधिकांश श्रमिकहरू न्यून पारिश्रमिक, कामको असुरक्षा, सामाजिक सम्मानको अभाव र श्रम कानुनको कमजोर कार्यान्वयनबाट पीडित छन् ।
नेपालका झन्डै ४० लाख नागरिक विभिन्न देशहरूमा श्रम गर्दै छन् । विशेषगरी खाडी मुलुक, मलेसिया, कोरिया, जापान र अन्यत्र । उनीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलायमान छ । राष्ट्रको कुल गार्हस्थ उत्पादन (न्म्ए) को करिब २४% वैदेशिक रेमिट्यान्सबाट प्राप्त हुन्छ ।

यिनै श्रमिकहरूको पसिनाबाट परिवार, समाज र राष्ट्र समृद्ध बनेको हो । तर उनीहरूका श्रमको मूल्यांकन र सामाजिक सुरक्षा अझै पनि अपर्याप्त छ । श्रमले मात्रै समृद्धि आउँदैन — जबसम्म श्रमप्रतिको सम्मान हुँदैन, तबसम्म त्यो समृद्धि न्यायपूर्ण र दिगो हुँदैन ।

किन गर्ने श्रमिकको सम्मान
- श्रमिकको मनोबल बढ्छ ।
- काममा दक्षता र लगाव आउँछ ।
- सामाजिक समता र न्यायको विकास हुन्छ ।
- राष्ट्रको उत्पादनशीलता र नवप्रवर्तनमा वृद्धि हुन्छ ।

विकसित राष्ट्रहरूले यही सिकेका छन् — हुनर र मेहनतको कदर बिना विकास सम्भव छैन । श्रमिक दिवस एउटा दिवस मात्र होइन — यो अवसर हो, श्रमिकको हकहितको सुनिश्चितता गर्ने, श्रमिकमैत्री नीतिहरू लागू गर्ने र उनीहरूको श्रमलाई राष्ट्रनिर्माणको मूल आधार मान्ने । वैदेशिक श्रमिकहरूका लागि सुरक्षित श्रम वातावरण, बीमा, पारिश्रमिकको ग्यारेन्टी, र पुनःस्थापनाको व्यवस्था अनिवार्य हुनुपर्छ । स्वदेश फर्किएका श्रमिकहरूलाई स्वरोजगार तथा सीप उपयोग गर्ने अवसर दिनुपर्छ ।
श्रमले समृद्धि ल्याउँछ । यो कुनै नारा होइन, अनुभवमा आधारित यथार्थ हो । जसले श्रमलाई सम्मान गर्छ, त्यहाँ उत्पादन हुन्छ । जहाँ उत्पादन हुन्छ, त्यहाँ विकास हुन्छ । विकासले नै समृद्धि ल्याउँछ । त्यसैले हामीले श्रमको अपमान होइन, सम्मान गर्न सिक्नुपर्छ — चाहे त्यो स्वदेशको खेतबारीमा होस्, कि विदेशको निर्माण क्षेत्रमा । श्रमिकको श्रमको मूल्यांकन, सुरक्षाको ग्यारेन्टी, र सामाजिक गरिमाको सुनिश्चितता बिना नेपाल समृद्ध बन्न सक्दैन ।

श्रमिक सम्मानित भए मात्रै नेपाल समृद्ध हुन्छ । त्यसैले आज हामी सबै मिलेर भन्नेछौं — “श्रमले समृद्धि ल्याउँछ ।”