अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ का वडाध्यक्षको नेतृत्वमा भइरहेको सडक आन्दोलन रोकिएको छ । बंक–नायल–बुडर सडक खण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखि दोमिल्लासम्मको सडक समयमै कालोपत्रेको लागि दबाब दिन वडाध्यक्ष अर्जुन साउँदले सडकमै वडा कार्यालय राखेर दबाबमूलक आन्दोलन गरेका थिए । नौलो शैलीको उक्त आन्दोलनका चौतर्फी चर्चा भएर जनदबाब बढेपछि निर्माण कम्पनी सन्तोषी थेगिङ जेबीले सडक कालोपत्रे गर्ने लिखित प्रतिबद्धता जनाएको हो ।

बिहीबार निर्माण कम्पनीले चैत २० गते सम्म बेस मेटिरियल जम्मा गरेर चैत २१ गते देखि सडक कालोपत्रेको काम सुरु गर्ने लिखित प्रतिबद्धता गरेको छ । वडाध्यक्ष साउँदले फागुन १८ गते देखि कार्यान्वयन निकाय पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए । उक्त सडक आन्दोलनको पाँचौँ दिन पूर्वाधार विकास कार्यालय कञ्चनपुरमा भएको छलफलमा ठेकेदारले लिखित प्रतिबद्धता गरेका हुन ।

सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने बंक–नायल–बुडर सडक निर्माणका लागि २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।
तोकिएको मितिमा काम नसकिएपछि हाल पूर्वाधार विकास कार्यालय कञ्चनपुरले २०८२ चैत ३० सम्म तोकेको छ । हाल थपिएको म्याद बाकी भए पनि ठेकेदारले थपिएको म्यादमा पनि काम सुरु नगरपछि वडाध्यक्षले सडकमै कार्यालय राखेर विरोध थालेका थिए ।
हाल ठेकेदारले सव बेसको काम गरिरहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ । ७ किलोमिटर सडक कालोपत्रेका लागि लागि ठेकेदार सँग ११ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको छ ।

















