काठमाडौं । काठमाडौंमा बिहिबारदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्स सँग भएको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५७ रन बनाएको थियो । उसका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ५९ रन बनाइन् भने आइरिस विलिङले ३१ रनको योगदान दिईन । बलिङमा नेपालका कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक/एक विकेट लिए ।

१५८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाउदै १३७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् भने कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् । बलिङमा नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २÷२ विकेट लिए ।

नेपालका लागि एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।